रानी कुमारी साह, रौतहट ।
माघ १२ गते , शनिबार ।
रौतहटको चन्द्रपुरमा रहेको होटेल अल्पाइन एण्ड गेष्ट हाउसको सभा हलमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरणका लागि दोश्रो चरणको पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम सौमी फिनल्याण्ड, टेवा नेपाल समूह, महिला दबाब समूह र युएन वुमनको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमको सभापतित्व देवकी नेपालले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरी उपस्थित थिइन्। उपप्रमुख चौधरीले महिलाका अधिकार, कर्तव्य र पहिचानका विषयमा प्रकाश पार्दै कार्यक्रम आयोजक र सहायक संस्थाहरूलाई धन्यवाद ज्ञापन गरिन्।
कार्यक्रममा विभिन्न सरकारी र गैरसरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं ६ का अध्यक्ष सहदेव केसी, रौतहट जिल्ला समन्वय समितिकी प्रतिनिधि कमला ढकाल, कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठ, अनुगमन अधिकृत खुश्बू कायस्थ, इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी सहायक निरीक्षक विनय कुमार सिंह, हवल्दार निर्मला बस्नेत, मालिनी खबरकी सञ्चालिका एवं सञ्चारकर्मी रानी कुमारी साहलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
सार्वजनिक सुनुवाई कार्यक्रमको क्रममा विभिन्न विषयमा छलफल गरिएको थियो। महिला सशक्तिकरण, सामुदायिक सुरक्षा, लैंगिक समानता र महिलाको पहिचान जस्ता विषयमा गहन विचार विमर्श गरियो। कार्यक्रममा सहभागी महिलाहरूले आफ्नो अनुभव, समस्या र सुझावहरू राख्दै समाधानका लागि पहल गर्न आग्रह गरे।
कार्यक्रम अधिकृत मिश्रीलाल साहले महिलावादी आन्दोलनलाई थप सुदृढ बनाउँदै लैजाने मार्गदर्शन प्रस्तुत गरे। त्यस्तै, अनुगमन अधिकृत खुश्बू कायस्थले महिलाको सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै सामाजिक विकासका लागि महिलाको सक्रिय भूमिका अपरिहार्य भएको उल्लेख गरिन्।
कार्यक्रमको समापनमा सहभागीहरूले यस प्रकारका कार्यक्रमले महिला र समुदायका अन्य वर्गहरूको समस्या समाधानमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको महत्वलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरियो।