प्रदीप दास, रौतहट ।
फाल्गुन ०१ गते, बिहीबार ।
मधेस प्रदेशका स्वास्थ्य सेवा कर्मचारीहरूको प्रतिनिधित्व गर्ने सिअहेव-सिअनमि पाँचौं तह स्वास्थ्य सेवा संघर्ष समिति का पदाधिकारीहरूले आफ्नो माग सम्बोधनका लागि मधेस प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री माननीय राजकुमार लेखि सँग महत्वपूर्ण वार्ता गरेका छन्।
उक्त वार्ता प्रदेश सभा सदस्य माननीय मनोज कुमार सिंह को नेतृत्वमा सम्पन्न भएको थियो। वार्ताको क्रममा मन्त्री लेखिले स्वास्थ्य सेवा सुधार तथा कर्मचारीका माग सम्बोधनका लागि गठित सुझाव समितिको अन्तिम प्रतिवेदन हालसम्म तयार नभएको जानकारी गराए। उनका अनुसार समितिका सम्पूर्ण सदस्यहरू कार्यव्यस्तताका कारण एउटै स्थानमा बैठक बस्न नसक्दा प्रतिवेदनको फाइनल ड्राफ्ट तयार पार्न ढिलाइ भएको हो।
तर, अबका दिनमा १ वा २ जना सदस्य मिलेर भए पनि १५ दिनभित्र प्रतिवेदन तयार गरी फाल्गुन १५ गतेदेखि सुरु हुने प्रदेश सभा बैठकमा पेस गर्ने प्रतिबद्धता मन्त्री लेखिले व्यक्त गरेका छन्। यस कुराको प्रत्यक्ष साक्षी प्रदेश सभा सदस्य मनोज कुमार सिंह स्वयं रहेका थिए।
वार्ताका क्रममा स्वास्थ्य मन्त्रीलाई समेत सम्बन्धित विषयमा ध्यानाकर्षण गराइ छिटो पहल गर्न आग्रह गर्ने सहमति बनेको छ। प्रदेश सभा बैठक सञ्चालन हुनु अगावै फाल्गुन ७ गतेभित्र अनिवार्य रूपमा जिल्ला स्तरीय संघर्ष समिति गठन गर्ने तथा जिल्लाभित्रका स्वास्थ्य सेवा कर्मचारीहरूलाई संगठित राख्ने निर्णय पनि लिइएको छ।
संघर्ष समितिले सम्पूर्ण जिल्लामा समन्वय गरी आन्दोलनको तयारी अवस्थामा रहन आग्रह गरेको छ।
संघर्ष समितिले वार्ताबाट सकारात्मक संकेत प्राप्त भए पनि यदि आउँदो प्रदेश सभा बैठकमा स्वास्थ्य सेवा सुधारसम्बन्धी मागहरू सम्बोधन नभएमा लोकतान्त्रिक अभ्यास अन्तर्गत धर्ना, आन्दोलन, अनसन लगायतका कडा संघर्षका कार्यक्रमहरू घोषणा गरिने चेतावनी दिएको छ। साथै, आन्दोलनबाट उत्पन्न हुने कुनै पनि असुविधाको सम्पूर्ण जिम्मेवारी मधेस प्रदेश सरकारको हुने संघर्ष समितिले स्पष्ट पारेको छ।
संघर्ष समितिले यस वार्तालाई सफल बनाउन पहल गर्ने माननीय मनोज कुमार सिंहको समन्वयात्मक भूमिका प्रति आभार प्रकट गरेको छ। साथै, आफ्नो माग सम्बोधनका लागि सरकारसँग निरन्तर संवादमा रहिरहने प्रतिबद्धता व्यक्त गर्दै समितिले सम्पूर्ण स्वास्थ्य सेवा कर्मचारीहरूलाई संगठित भई अधिकारका लागि दृढतापूर्वक अघि बढ्न आग्रह गरेको छ।