रानी साह, रौतहट ।
फाल्गुन ०९ गते,शुक्रबार ।
रौतहट जिल्लाको चन्द्रपुरस्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेकपा एमालेका जन ज्योति बहुमुखी क्याम्पस कमिटी तथा चन्द्रपुर नगर कमिटीका अध्यक्ष मनिष चौधरी र विद्यार्थी नेता परिवर्तन क्षेत्रीले एकैपटक राजीनामा दिएका छन्। यी दुई प्रभावशाली विद्यार्थी नेताहरुको राजीनामाले चन्द्रपुर क्षेत्रमा नेकपा एमाले पार्टीलाई ठूलो धक्का लागेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
राजीनामाको कारणबारे औपचारिक रुपमा सार्वजनिक वक्तव्य जारी नगरिए पनि सामाजिक सञ्जालमा देखिएका टिप्पणीहरूले यस कदमको पछाडि गहिरो असन्तुष्टि र आन्तरिक कलह रहेको संकेत गर्छ। मनिष चौधरीको व्यक्तिगत फेसबुक आईडीमा परिवर्तन क्षेत्रीले कमेन्ट गर्दै, “ठिकै गर्नु भयो, यस्तो गुण्डा गर्दिलाई साथ दिने पार्टीमा बस्नु उचित छैन,” लेखेका छन्। परिवर्तन क्षेत्रीको यस्तो टिप्पणीले पार्टीभित्रको आन्तरिक विवाद र असन्तोष झल्काएको छ।
चन्द्रपुर क्षेत्रका राजनीतिक गतिविधिमा अनेरास्ववियुको महत्वपूर्ण प्रभाव रहँदै आएको थियो। विशेष गरी विद्यार्थी राजनीति मार्फत नेकपा एमालेका युवा संगठनलाई सशक्त बनाउने काममा अध्यक्ष चौधरी र क्षेत्रीको अग्रणी भूमिका रहेको थियो। यस्तो अवस्थामा यी दुई नेताको अचानक राजीनामाले पार्टी संगठनको संरचना र आगामी योजनामा ठूलो प्रभाव पार्ने देखिएको छ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटीका एक वरिष्ठ नेताका अनुसार, “राजीनामा दिने नेताहरुको गुनासो पार्टी नेतृत्वले समयमै सम्बोधन गर्न सकेको भए यस्तो अवस्था आउने थिएन। विद्यार्थी संगठनको नेतृत्व तहमै यति ठूलो असन्तोष हुनु गम्भीर विषय हो।”
सामाजिक सञ्जालमा परिवर्तन क्षेत्रीको अभिव्यक्तिले संकेत गरेजस्तै, पार्टीभित्रको आन्तरिक विवाद, गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धाका कारण यी नेताहरूले पार्टी छोड्न बाध्य भएको अनुमान गरिएको छ। “गुण्डा गर्दिलाई साथ दिने पार्टीमा बस्नु उचित छैन” भन्ने टिप्पणीले केही गलत तत्वहरूको गतिविधिलाई नेतृत्व तहबाट प्रोत्साहन गरिएको आरोप देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, चन्द्रपुर क्षेत्रमा पछिल्लो समय नेकपा एमालेभित्र देखिएको असहज सम्बन्ध र आन्तरिक संघर्षले पार्टीको स्थानीय संगठनमा गम्भीर असर पार्न सक्नेछ। विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहेका मनिष चौधरी र परिवर्तन क्षेत्रीले संगठनलाई बलियो बनाउन खेलेको भूमिकालाई हटाउन सकिने विकल्प तुरुन्त देखिँदैन।
राजीनामा पछि पार्टीभित्र नेतृत्वको रिक्तता पूर्ति गर्ने चुनौतीसहित संगठनलाई एकताबद्ध राख्ने जटिल जिम्मेवारी एमाले नेतृत्वका लागि रहेको छ। चन्द्रपुर नगर कमिटीले तत्काल नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको स्रोतहरूले जनाएका छन्। यद्यपि, आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै संगठनलाई पुनः एकताबद्ध बनाउने प्रयास कठिन हुनेछ।
राजीनामा दिएका नेताहरूले भविष्यमा कुन राजनीतिक बाटो रोज्ने हुन् भन्ने चासो पनि उत्तिकै उठेको छ। उनीहरू नयाँ पार्टीको विकल्प खोज्ने छन् कि स्वतन्त्र रूपमा राजनीतिक गतिविधिमा लाग्नेछन् भन्ने विषय अहिले खुलाइएको छैन। तथापि, यी नेताहरूको राजनीतिक यात्रा चन्द्रपुर क्षेत्रको राजनीतिक गणितमा निर्णायक बन्न सक्ने देखिन्छ।