मौलापुर मधानी महायज्ञको भव्य समापन: नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउने सेतु

रानी साह,रौतहट ।

फाल्गुन १५ गते, बिहीबार ।

रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञ पाँच दिनसम्म विविध धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा खेलकुद गतिविधिहरूसहित भव्य रूपमा सम्पन्न भएको छ। महायज्ञको अन्तिम दिन प्राचीन खेल दंगल (कुस्ती) कार्यक्रमसँगै सम्पन्न भयो, जसमा नेपाल र भारतका चर्चित पहलवानहरूको विशेष सहभागिता रहेको थियो ।

महायज्ञको मुख्य आकर्षणको रूपमा रहेको दंगल कार्यक्रममा नेपालका त्रिलोकी यादव, बाब हरिओम, नमर्ता, मोकतार अली, अनुठा साह लगायतका पहलवानहरूले दमदार प्रदर्शन गरेका थिए । त्यस्तै, भारतका केरलाबाट कटपा पहलवान, हलचल पहलवान, उत्तराखण्डबाट मेन्टल पहलवान, अजगर पहलवान, भूकम्प पहलवान, जम्मु-कश्मीरबाट जावेद अली, यामिन पहलवान सहभागी भएका थिए । झारखण्डबाट एप्पल पहलवान, गोरखपुरबाट खुशी पहलवान, गोपालगञ्ज बिहारबाट पायल पहलवान, हरियाणाबाट काजल पहलवान, बंगालबाट हुकुम सिंह, धमाका पहलवान, बनारसबाट प्रिन्स पहलवान लगायतका चर्चित पहलवानहरूको समेत सहभागिता रहेको थियो ।

दंगल कार्यक्रम मौलापुर नगरपालिकाका उपमेयर नागेन्द्र यादवको अध्यक्षता तथा मेयर रिना कुमारी साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । हजारौंको उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रमले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको विश्वास स्थानीय तहका नेताहरूले व्यक्त गरे।

मधानी महायज्ञ मौलापुर नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। ११ फागुनदेखि १५ फागुनसम्म पाँच दिनसम्म चलेको महायज्ञमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका थिए।

११ फागुन: विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षा तथा साक्षरतासँग सम्बन्धित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।

१२ फागुन: भगवान शिवको भव्य बरात यात्रा नगर परिक्रमा गर्दै निकालियो।

१३ फागुन: पतौराधामस्थित ऐतिहासिक शिवमन्दिरमा विशेष पूजा सम्पन्न गरियो, जसमा शिवमण्डलीबीच प्रतिस्पर्धात्मक धार्मिक अनुष्ठान सम्पन्न भयो।

१४ फागुन: मधानी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भयो, जसमा नेपाल र भारतका चर्चित कलाकारहरूले प्रस्तुति दिए।

१५ फागुन: मधानी विशेष दंगल कार्यक्रमसँगै महायज्ञको समापन गरियो ।

महायज्ञमा नेपाल तथा भारतका लाखौं दर्शनार्थीहरूको सहभागिता रह्यो। पतौराधाममा असाधारण भिडभाड देखिन्थ्यो, जसले व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पारेको स्थानीय व्यवसायीहरूले जनाएका छन्। मेयर साहका अनुसार, महायज्ञले नेपाल–भारतको सम्बन्ध थप प्रगाढ बनाउने मात्र नभई पतौराधामलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्यमा समेत योगदान पुर्‍याउनेछ।

“मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस स्थललाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने हाम्रो प्रतिबद्धता छ,” मेयर साहले भनिन्।

महायज्ञको सांस्कृतिक कार्यक्रममा भोजपुरी तथा नेपाली कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो। भोजपुरी सिने जगतका चर्चित लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, “डायरी अफ मणिपुर” फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेले विशेष प्रस्तुति दिए।

यसैगरी, महाकुम्भ मेलाबाट चर्चित मोनालिसा, भोजपुरी कलाकार मिंटुवा, गायक सुनील पंडित, नेपाली गायक गौरव नारायण राई, भोजपुरीकी प्रिया सुहानी तथा स्थानीय कलाकारहरूले समेत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे।

यस वर्षको मधानी महायज्ञले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाएको विश्वास गरिन्छ। प्रत्येक वर्ष भगवान शिव–पार्वतीको विवाह उत्सवको रूपमा मनाइने यस महायज्ञले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

ताजा समाचार

Related Articles