बृन्दावन नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण सुरु 

प्रदीप कुमार दास, रौतहट ।

फाल्गुन १९ गते, सोमबार ।

बृन्दावन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक रूपमा परिचयपत्र वितरण गर्न थालेको छ। यसअघि महिला विकास तथा जेष्ठ नागरिक कार्यालयमार्फत परिचयपत्र वितरण हुँदै आए पनि स्थानीय तहमा महिला तथा बालबालिका कार्यालय स्थापना भएपछि, कार्यविधि २०७९ अनुसार नगरपालिकाले नै यो जिम्मेवारी लिएको हो।

सोमबार नगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै नगरप्रमुख बिनोद प्रसाद कुर्मीको नेतृत्वमा अपाङ्गता परिचयपत्र वितरण कार्यको औपचारिक सुरुवात गरेको हो। नगर प्रमुख कुर्मीले नगर क्षेत्रभित्र रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई क्रमबद्ध रूपमा परिचयपत्र वितरण गरिने जानकारी दिएका हुन् ।

हालसम्म १३८ जनाले अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएका थिए, जसलाई नियमानुसार वर्गीकरण गरी निम्नअनुसार परिचयपत्र वितरण गरिएको छ :

क वर्ग (अति गम्भीर अपाङ्गता) – ७ जना

ख वर्ग (गम्भीर अपाङ्गता) – १५ जना

ग वर्ग (मध्यम अपाङ्गता) – ३८ जना

घ वर्ग (सामान्य अपाङ्गता) – ६५ जना

नगरपालिकाका स्वास्थ्य संयोजक रासननारायण पटेलका अनुसार, सम्पूर्ण वडाका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी उनीहरूको अवस्थाका आधारमा वर्गीकरण गर्दै परिचयपत्र वितरण गरिएको हो। उनले भने, “हामीले प्रत्येक वडामा पुगेर अपाङ्गता भएका व्यक्तिहरूको अध्ययन तथा निरीक्षण गरेका छौँ। त्यसपछि उनीहरूको अपाङ्गताको प्रकृति हेरी वर्ग विभाजन गरी परिचयपत्र प्रदान गरेका छौँ।”

नगर प्रमुख कुर्मीले यो परिचयपत्र वितरण कार्यक्रम ढिलो हुनुको पछाडि राजनीतिक अवरोध मुख्य कारण रहेको बताए। उनले भने, “हामी निर्वाचित भएदेखि नै हाम्रो काममा अवरोध पुर्‍याउन विभिन्न प्रकारका गतिविधिहरू गरिए। ३८ दिनसम्म नगरपालिकामा धर्ना दिइयो, प्रशासनलाई असक्षम बनाउन जालझेल गरियो। तर, हामी जनताको सेवा गर्न प्रतिबद्ध छौँ।”

उनका अनुसार, परिचयपत्र वितरणको प्रक्रिया धेरै पहिल्यै सुरु गर्न सकिन्थ्यो, तर राजनीतिक कारणले गर्दा ढिलाइ भयो। अहिले भने सबै कानुनी प्रक्रिया पूरा गर्दै वितरण कार्य सुरु गरिएको छ।

नगर प्रमुख कुर्मीका अनुसार, अपाङ्गता परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूले निम्न सेवा-सुविधाहरू पाउनेछन् :

✅ सरकारी तथा सार्वजनिक सेवाहरूमा प्राथमिकता

✅ स्वास्थ्य उपचारमा छुट तथा विशेष सेवा

✅ सामाजिक सुरक्षा भत्ता तथा सहयोग कार्यक्रम

✅ शिक्षा तथा रोजगारीमा विशेष अवसर

✅ अपाङ्गता मैत्री संरचना तथा यातायात सुविधा

नगरपालिकाले अपाङ्गता भएका नागरिकहरूलाई अझ सहज बनाउनका लागि अन्य थप कार्यक्रमहरू ल्याउने योजना बनाइरहेको पनि नगर प्रमुख कुर्मीले जानकारी दिए।

नगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको हक-अधिकार सुनिश्चित गर्न थप नीतिगत तथा व्यावहारिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। नगर प्रमुख कुर्मीले भने, “त्यति मात्र नभई दीर्घ रोगी तथा मृगौलापीडित व्यक्तिहरूका लागि पनि राज्यबाट पाउने सम्पूर्ण सेवा-सुविधा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छौँ।”

अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा एमआईएस अपरेटर सरोज कुमार यादव, सुशासन शाखा प्रमुख हरिदुलाल, रोजगार सेवा केन्द्रका प्रमुख हरेराम पण्डित, फिल्ड सहायक अनिल यादव लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

ताजा समाचार

Related Articles