प्रदीप दास, रौतहट ।
चैत्र १२ गते, मंगलबार ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका गर्भवती तथा सुतकेरी महिलालाई लक्षित गरी राहत सामग्री वितरण गर्न थालिएको छ। मातृ तथा नवजात शिशु स्वास्थ्यलाई सुदृढ बनाउने उद्देश्यले माण्डवी संस्थाको आयोजना तथा जर्मन ह्युमानिटेरियन संस्था र वन हर्ट संस्थाको सहयोगमा स्वास्थ्य आपतकालीन सहायता कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा ३०० जना महिलालाई राहत वितरण गरिएको छ।
ईशनाथ नगरपालिकाको समन्वयमा सञ्चालन भएको यो कार्यक्रम मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै कार्यान्वयन गरिएको हो। नगरपालिकाको औरैया स्वास्थ्य चौकीबाट चालु आर्थिक वर्षको श्रावणदेखि माघसम्म खोप तथा गर्भवती सेवा लिएका ८६१ जना महिलालाई लक्षित गर्दै राहत वितरण थालिएको हो। माण्डवी संस्थाका कार्यकारी निर्देशक अन्जु झाले कार्यक्रमबारे जानकारी दिँदै पहिलो चरणमा ३०० महिलालाई राहत प्रदान गरिएको र बाँकी लाभग्राहीलाई क्रमशः वितरण गरिने बताइन्।
नेपालमा मातृ तथा नवजात शिशु मृत्युदरलाई न्यूनीकरण गर्न विभिन्न संस्थाहरूले सहकार्य गर्दै आइरहेका छन्। विशेषगरी ग्रामीण तथा पिछडिएका समुदायका महिलाहरू सुरक्षित मातृत्व सेवाबाट विमुख भइरहेका कारण यस्तो कार्यक्रमले ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। माण्डवी संस्थाका परियोजना संयोजक सञ्जीव कुमारका अनुसार, गर्भवती तथा सुत्केरी महिलाहरूलाई आवश्यक स्वास्थ्य सेवा तथा पोषणयुक्त सामग्री वितरण गरेर उनीहरूलाई सुरक्षित मातृत्व सेवासँग जोड्ने उद्देश्य राखिएको छ।
कुमारका अनुसार, राहत सामग्री वितरणमार्फत महिलाहरूलाई स्वास्थ्य सेवा लिन प्रोत्साहित गरिँदैछ। स्वास्थ्य सचेतनाका साथै गर्भवती तथा सुत्केरी अवस्थाका चुनौतीहरू कम गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ। नगरपालिकाका वार्ड नं २ र ३ का महिलाहरू प्राथमिक रूपमा लाभान्वित हुने बताइएको छ।
यस राहत वितरण अभियानले प्रारम्भिक रूपमा सीमित संख्यामा महिलाहरूलाई समेटेको भए पनि आगामी दिनमा नगरपालिकाभरिका सबै वर्ग, समुदाय तथा आयस्रोतका व्यक्तिहरूलाई स्वास्थ्य सेवासँग जोड्ने लक्ष्य राखिएको छ। सुरक्षित मातृत्वका लागि जनचेतना अभिवृद्धि गर्दै नियमित स्वास्थ्य परीक्षण, खोप तथा पौष्टिक आहारको पहुँच वृद्धि गराउने रणनीति बनाइएको छ।
ईशनाथ नगरपालिकामा यो अभियान सञ्चालन भएपछि स्थानीय महिलाहरूले खुशी व्यक्त गरेका छन्। राहत सामग्री पाएपछि उनीहरूलाई गर्भावस्था र सुत्केरी अवस्थामा आवश्यक पर्ने आधारभूत आवश्यकताहरू पूरा गर्न सहज भएको छ। स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा थप कार्यक्रमहरू ल्याइने र मातृ तथा नवजात शिशु मृत्युदर घटाउन निरन्तर प्रयास गरिने आयोजक संस्थाहरूले बताएका छन्।