रौतहटमा बागमती खोलाको खाडलमा डुबेर युवकको मृत्यु

प्रदीप कुमार दास, रौतहट ।

चैत्र २६ गते, मंगलबार ।

रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बलेरी क्षेत्रमा रहेको बागमती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, मृत्यु हुने युवक सोही नगरपालिका वडा नम्बर १ अन्तर्गतको तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजा रहेका छन्।

मंगलबार दिउँसोको समयमा नुहाउन गएका अर्जुनको बागमती खोलाको खाडलमा डुबेर मृत्यु भएको जनाइएको छ। बागमती खोलामा नदीजन्य पदार्थ (बालुवा, गिट्टी) उत्खननका कारण कृत्रिम रूपमा बनेको उक्त खाडलमा पानी जमेर सानो तालजस्तै बनेको थियो। सोही खाडलमा नुहाउने क्रममा अर्जुन अचानक डुबेका थिए।

स्थानीयवासीका अनुसार खाडलको औसत गहिराइ पाँचदेखि छ फिटको आसपास रहेको छ। यद्यपि, उक्त खाडलमा जमेको पानीको सतह सफा नभएको र तलको भाग हिलोयुक्त तथा फिसल हुने खालको भएकाले अर्जुनको डुबेर ज्यान गएको अनुमान गरिएको छ।

घटनापछि स्थानीय बासिन्दा र प्रहरी टोली घटनास्थलमा पुगेका थिए। अर्जुनलाई तत्काल उद्धार प्रयास गरिएको भए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको थियो। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। यस घटनाले खुला रूपमा खनन गरिएका स्थानहरूको सुरक्षाको अभाव र व्यवस्थापनको कमजोरीलाई फेरि एकपटक उजागर गरेको छ। स्थानीय तह तथा सम्बन्धित निकायहरूलाई यस्ता खाडलहरूमा सुरक्षाका उपाय अवलम्बन गर्न तथा जनचेतना फैलाउन आग्रह गरिएको छ।

स्थानीयबासीले यसअघि पनि खाडलमा बालबालिका र युवाहरू नुहाउन जाने गरेका कारण दुर्घटनाको सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए। घटनापछि अर्जुनको परिवार र गाउँमा शोकको वातावरण छ।

ताजा समाचार

Related Articles