प्रदीप कुमार दास, रौतहट ।
जेठ ३१ गते, शनिबार ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ईशनाथ शाखा अब नयाँ भवनबाट सञ्चालनमा आएको छ । ईशनाथ नगरपालिका–२ स्थित नयाँ शाखा भवनको औपचारिक उद्घाटन आज शनिबार एक विशेष समारोहबीच नगर प्रमुख श्रीमती कौशल्या देवीद्वारा सम्पन्न गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख कौशल्या देवी प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने, बैंकका शाखा प्रमुख दिलीप राउतले स्वागत मन्तव्य राख्दै बैंकले नयाँ भवनमार्फत थप स्तरीय, सुरक्षित र ग्राहकमैत्री सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वित्तीय पहुँचलाई सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले शाखा विस्तार तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो।
उद्घाटन समारोहमा ईशनाथ नगरपालिका वडा नं–२ का वडा अध्यक्ष धर्मेन्द्र साह, वडा नं–३ का वडा अध्यक्ष रामचन्द्र राउत, वडा नं–६ का वडा अध्यक्ष जवाहर साह, नगर प्रमुखको निजी सचिव प्रमोद यादव, साथै नगरका अन्य जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, व्यापारी, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई उत्साहपूर्वक सम्पन्न गराइएको थियो, जहाँ स्थानीय समुदायका प्रतिनिधिहरूले बैंकको सेवा विस्तारप्रति खुसी व्यक्त गर्दै आर्थिक विकासका लागि वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागी अतिथिहरूले राष्ट्रिय वाणिज्य बैंक जस्तो प्रतिष्ठित सरकारी बैंकले गाउँ–नगरसम्म शाखा विस्तार गर्दै सेवा दिने कार्यले आम नागरिकको बैंकिङ पहुँच अभिवृद्धि हुने विश्वास व्यक्त गरे। नयाँ भवन सञ्चालनमा आएसँगै बैंकले आधुनिक पूर्वाधारसहितको सेवा प्रदान गर्दै स्थानीय ग्राहकलाई अझ सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यस अवसरमा शाखा प्रमुख दिलीप राउतले स्थानीय समुदाय, जनप्रतिनिधि तथा ग्राहकहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद दिँदै, बैंकले सामाजिक उत्तरदायित्व बोधका साथ कार्य गर्दै जाने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।
नयाँ भवनको उद्घाटनसँगै अब राष्ट्रिय वाणिज्य बैंक ईशनाथ शाखाले स्थानीय जनताका लागि अझ प्रभावकारी वित्तीय सेवा, ऋण सुविधा, बचत योजना, डिजिटल बैंकिङ र अन्य सुविधा थप सजिलो तरिकाले उपलब्ध गराउने विश्वास गरिएको छ ।

