वृन्दावन नगर प्रमुख कुर्मीद्वारा दलित धर्मशालामा बहुपक्षीय विकास योजनाको शिलान्यास

प्रदीप कुमार दास, रौतहट ।

जेठ ३१ गते ,शनिबार ।

रौतहट वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले वडा नम्बर ८ अन्तर्गत बहुअरीमा अवस्थित दलित धर्मशालामा खानेपानी धारा जडान, एक तल्ले भर्याङ, शौचालय निर्माण र बरण्डा रेलिङ जडानसम्बन्धी बहुपक्षीय पूर्वाधार विकास योजनाको शिलान्यास गर्नुभएको छ।

शनिबार एक विशेष समारोहका बीच नगर प्रमुख कुर्मीले उक्त योजनाहरूको संयुक्त शिलान्यास गर्दै, आफ्नो चुनावी प्रतिबद्धता अनुसार दलित समुदायप्रति गरिएका वाचा कार्यान्वयनको दिशामा यो कदम महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको विकास गर्दा समुदायगत आवश्यकता र समावेशी पहुँच सुनिश्चित गर्नु आफूहरूको प्रमुख लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

“विकासको लहर अहिले वृन्दावनमा तीव्र गतिमा अगाडि बढिरहेको छ,” नगर प्रमुख कुर्मीले भन्नुभयो, “आज दलित धर्मशालामा खानेपानी धारा, शौचालय, भर्याङ र बरण्डा रेलिङको शिलान्यास गरेर हामीले सिंगो दलित समुदायका लागि एक महत्वपूर्ण पूर्वाधारको सुरुवात गरेका छौं। केही दिनभित्रै यस धर्मशालाको माथिल्लो तल्ला—अर्थात दुई तल्ले संरचनाको निर्माण कार्य पनि सुरु हुनेछ।”

नगर प्रमुख कुर्मीले भन्नुभयो, “चुनावको समयमा मैले दलित समुदायप्रति गरिएको विकासको प्रतिबद्धता आजको शिलान्यासले अझ मजबुत बनाएको छ। यो केवल सुरुआत हो, आगामी दिनमा वृन्दावनको प्रत्येक वडामा समावेशी र समग्र विकासको अनुभूति हुने कार्यहरू क्रमशः अघि बढाइनेछ।”

कार्यक्रममा स्थानीय समाजसेवी, दलित समुदायका अगुवा, नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नगर प्रमुख कुर्मीद्वारा थालिएको कार्यको खुलेर प्रशंसा गर्दै, यस्तो विकासले दलित समुदायमा नयाँ आशा, आत्मविश्वास र सहभागिताको भावना जागृत गरेको धारणा व्यक्त गरेका थिए।

दलित धर्मशालामा सुरु गरिएको पूर्वाधार निर्माणले धार्मिक, सामाजिक तथा सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्न थप सहजता हुनेछ । यसले दलित समुदायको आत्मसम्मान अभिवृद्धि गर्नुका साथै सामाजिक समावेशीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने स्थानीयवासीहरू बताउँछन्।

नगर प्रमुख कुर्मीको नेतृत्वमा वृन्दावन नगरपालिका भौतिक पूर्वाधार, सामाजिक समावेशिता, शिक्षा र स्वास्थ्यजस्ता बहुआयामिक क्षेत्रहरूमा निरन्तर प्रगतिको बाटोमा अघि बढिरहेको जनविश्वास बढ्दो छ।

ताजा समाचार

Related Articles