प्रदीप सम्राट,रौतहट ।
आषाढ ०१ गते , आईतवार ।
रौतहट जिल्लाको दक्षिणी भेगमा अवस्थित राजपुर नगरपालिकाको नवौं नगर सभा आइतबार भव्य रुपमा सम्पन्न भएको छ। नगर प्रमुख मो. राजिक आलमको अध्यक्षतामा सम्पन्न नगर सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ।
नगर प्रमुख आलमले आगामी वर्षका लागि कुल ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै विकासलाई टोलटोलसम्म पुर्याउने प्रतिवद्धता जनाए। उनले आगामी वर्षलाई ‘व्यवस्थित पूर्वाधार, समावेशी विकास र पारदर्शी प्रशासन’ को आधार बनाएर अघि बढ्ने जनाएका छन्। नगर प्रमुखले भने, “वडानं. १ देखि ९ सम्मका सम्पूर्ण टोलमा विकासको प्रत्यक्ष अनुभूति हुने गरी कार्यक्रमहरू अघि बढाइनेछ।”
नगरसभामा बोल्दै मेयर आलमले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, रोजगार सिर्जना र सामाजिक सुरक्षा जस्ता प्राथमिक क्षेत्रहरूमा विशेष जोड दिइएको बताए। “जनताले सरकारलाई नजिकबाट महसुस गर्न सकून् भन्ने उद्देश्यले प्रत्येक टोलमा सन्तुलित विकासका कार्यक्रम सञ्चालन गरिनेछ,” उनले भने।
सभामा अनुमानित आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गरिएको थियो। सो अवसरमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, लेखा प्रमुख मनोज कर्ण, प्रशासन शाखा प्रमुख, सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरपालिका कर्मचारी, स्थानिय बासिन्दा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख आलमले समावेशी योजना, पारदर्शी खर्च, नागरिकको सहभागिता र उत्तरदायी सेवा प्रवाहका आधारमा समृद्ध र सशक्त राजपुर निर्माण गर्ने संकल्प व्यक्त गरे। नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम आगामी दिनमा बजेटमार्फत कार्यान्वयन गरिने जानकारी दिइयो।
राजपुर नगरपालिकाको यो बजेटले स्थानीय स्तरमा आवश्यक पूर्वाधार विकास, सेवाप्रवाहमा सुधार तथा आर्थिक प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। नगर प्रमुख आलमले सबै नागरिक, कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाहरूसँग सहकार्य गर्दै योजना कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

