अन्तर्राष्ट्रिय योग दिवस २०२५ भव्य रूपमा सम्पन्न

प्रदीप सम्राट, रौतहट ।

आषाढ ०४ गते ,बुधबार ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–२, पिपरा भलोहियास्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा एक भव्य र सुसंगठित कार्यक्रम सम्पन्न गरिएको छ। भारतको महावाणिज्य दूतावास, वीरगञ्ज र दुर्गा भगवती गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीयदेखि प्रदेशस्तरसम्मका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णा यादव रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा प्रदेश सरकारका अर्थमन्त्री सुनील कुमार यादव सहभागी हुनु भएको थियो। त्यस्तै जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्र मणि गिरी, भारतीय महावाणिज्य दूतावास वीरगञ्जका काउन्सेलर, सीजी ग्रुपका प्रतिनिधि, प्रदेशसभा सदस्य नागेन्द्र शाह, गाउँपालिकाका पूर्व अध्यक्ष अरुण शाह, उपाध्यक्ष शिला देवी, वडा अध्यक्ष प्रधुम्न चौधरी, सुरेश चौधरी तथा जिल्ला सुरक्षा निकायका अन्य प्रमुखहरू पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको सुरुवातमा दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले स्वागत मन्तव्य राख्दै, यस्तो विशिष्ट तहको सहभागिता भएको कार्यक्रम आफ्नै गाउँपालिकामा हुनुलाई अत्यन्त गौरवपूर्ण अवसर भएको बताउनुभयो। योगको ऐतिहासिक पृष्ठभूमि, स्वास्थ्य लाभ र यसको सामाजिक सन्देशमाथि प्रकाश पार्दै अध्यक्ष सिंहले योग शारीरिक सन्तुलन, मानसिक शान्ति र आत्मिक उन्नतिको बाटो भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागीहरूलाई विभिन्न योग आसनहरूको अभ्यास गराइएको थियो। योग प्रशिक्षकहरूले आसन, प्राणायाम र ध्यान विधिका अभ्यासमार्फत सहभागीहरूलाई योगको महत्वबारे प्रत्यक्ष अनुभव प्रदान गरेका थिए।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन पतञ्जलि योगपीठ, युनिलिभर नेपाल, तथा अन्य सामाजिक संस्थाहरूले सहकार्य गरेका थिए।

आयोजकहरूका अनुसार, उक्त कार्यक्रमले स्थानीय तहमा योगप्रतिको जनचेतना अभिवृद्धि, स्वस्थ जीवनशैलीको प्रवर्द्धन र सकारात्मक सामुदायिक ऊर्जा निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रमको समापनतर्फ धन्यवाद ज्ञापन गर्दै आयोजकले आगामी वर्षहरूमा अझ व्यापक सहभागिता र पहुँचसहित योग दिवस मनाउने प्रतिबद्धता व्यक्त गरे।

ताजा समाचार

Related Articles