वृन्दावन नगरपालिकामा मेयर कप क्रिकेट प्रतियोगिता सुरु, नगर प्रमुख कुर्मीद्वारा भव्य उद्घाटन

प्रदीप सम्राट,रौतहट। 

असार ४ गते, बुधबार ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता २०८२ को आज एक भव्य समारोहका बीच शुभारम्भ गरिएको छ। प्रतियोगिताको उद्घाटन वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीज्यूले नगर प्रमुखको विशेष आतिथ्यमा गरिएकाे हो।

प्रतियोगिता उद्घाटन समारोह वडा नं. ७ स्थित रूपा नेपाली माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रममा नगर प्रमुख कुर्मीका साथै प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल, शिक्षा संयोजक उपेन्द्र महतो, वडा अध्यक्षहरू मजहर मन्सुर, रवीन्द्र साह, परवेज आलम, फेकु दास, कार्यपालिका सदस्य रेखा देवी, वडा सदस्य महेन्द्र दास तत्मा, सञ्जय साह, विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र सिंह, शिक्षक–शिक्षिका, विद्यार्थी, खेलप्रेमी दर्शक, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी लगायत विभिन्न सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन मन्तव्यका क्रममा नगर प्रमुख विनोद प्रसाद कुर्मीले युवाहरूको शारीरिक, मानसिक र नैतिक विकासका लागि खेलकुदको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई खेल भावना र अनुशासनको पालना गर्दै खेल्न निर्देशन दिनुभयो। वहाँले भने, “खेल मैदानमै नेतृत्व, मैत्री र सामाजिक समरसता सिकिन्छ, त्यसैले अनुशासित खेलाडी बन्ने अभ्यास सबैले गर्नुपर्छ।”

वृन्दावन क्रिकेट समितिका प्रतिनिधि किशोरी पटेलका अनुसार यस पटकको प्रतियोगितामा नगरपालिका भित्रका वडा नं. १ देखि वडा नं. ९ सम्मका सबै वडाका क्रिकेट टिमहरूको सहभागिता रहनेछ। समितिका संयोजक पटेलका अनुसार आजको उद्घाटन सत्रपछि वडा नं. ७ र वडा नं. ९ बीच पहिलो खेल हुने भएको छ।

प्रतियोगिता संयोजक आशिष राउत कुर्मीले जानकारी गराए अनुसार नगरप्रमुख विनोद प्रसाद कुर्मीको विशेष पहलमा हरेक वर्ष आयोजना हुँदै आएको मेयर कप यसपालि पनि युवाहरूमा नेतृत्व विकास, आपसी सद्भाव र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

यस प्रतियोगिताबाट स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास हुनुका साथै प्रतिभावान खेलाडीहरू पहिचान गर्न र आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ।

ताजा समाचार

Related Articles