मौलापुर नगरपालिकाबाट विद्युत प्राधिकरणलाई ३ करोड १७ लाख रुपैयाँ निकासा – “फ्री बिजुली, फ्री पानी” कार्यक्रम अन्तर्गत जनताको महसुल नगरकै जिम्मा

प्रदीप सम्राट, रौतहट ।

आषाढ ०६ गते, शुक्रबार ।

 रौतहटको मौलापुर नगरपालिका देशकै उत्कृष्ट उदाहरणीय योजनाका रुपमा परिचित “फ्री बिजुली, फ्री पानी” कार्यक्रमलाई निरन्तरता दिँदै जनताको घरायसी तथा कृषि प्रयोजनको विद्युत महसुल स्वयं नगरपालिकाले व्यहोर्दै आइरहेको छ। यही क्रमलाई अघि बढाउँदै आज असार ६ गते, मौलापुर नगर प्रमुख रिना कुमारी साहले विद्युत प्राधिकरण, मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई रु ६० लाख बराबरको चेक हस्तान्तरण गर्नुभयो।

यो रकम चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत यसै योजनाको निरन्तरता स्वरूप विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। यस अघि नै उक्त कार्यक्रमअन्तर्गत मौलापुर नगरपालिकाले रु २ करोड ५७ लाख १० हजार निकासा गरिसकेकोमा आजको चेकसहित यो रकम बढेर कुल रु ३ करोड १७ लाख १० हजार पुगेको छ।

प्राधिकरणका अनुसार, यो रकमले आगामी २०८२ सालको भदौ महिनाको अन्त्यसम्म मौलापुर नगरभित्रका आम नागरिकहरुको विद्युत महसुलको भुक्तानी पुग्ने अनुमान गरिएको छ।

मौलापुर नगरपालिका देशकै केही उदाहरणीय पालिकामध्ये एक हो जसले शून्य कर नीति अपनाउँदै जनतालाई करको भारबाट पूर्ण रुपमा मुक्त बनाएको छ। चाहे घरायसी प्रयोजनको बिजुली होस् वा सिँचाइका लागि कृषि मिटर, नगरवासीले तिर्नुपर्ने महसुलको बोझ अब नगरपालिकाले आफैं बहन गर्दै आइरहेको छ।

शासकीय व्यवहार, कार्यक्षमता र जनभावनाको सम्मानका दृष्टिले अत्यन्तै सकारात्मक प्रभाव पार्दै आएको यो योजना आज सिङ्गो मुलुककै ध्यानको केन्द्र बन्न पुगेको छ। सामान्यतः कर उठाएर सेवा प्रवाह गर्ने संरचनालाई चुनौती दिँदै मौलापुरले आफ्ना नागरिकलाई मूलभूत सेवा निःशुल्क उपलब्ध गराउने कार्यमार्फत नयाँ मापदण्ड स्थापित गरेको छ।

नगर प्रमुख रिना कुमारी साहको दूरदृष्टि, ईमानदारिता र समर्पित नेतृत्वले मौलापुरमा जनताले आफूलाई साँचो अर्थमा सशक्त र आत्मनिर्भर महशुस गर्न पाएका छन्। “अपन नगर, मौलापुर नगर” भन्ने नाराले जनताको मन जितिसकेको छ।

स्थानीय तहको सुदृढीकरण, जनताको सीधा जीवनस्तरसँग जोडिएका विषयहरूमा यस्ता महत्वाकांक्षी र मानवीय योजना सञ्चालन गर्नु वास्तवमै अनुकरणीय कार्य हो। मौलापुरको यो प्रयासले समग्र प्रदेश र देशका अन्य पालिकाहरुलाई पनि सामाजिक उत्तरदायित्व र सेवामुखी प्रशासनको नयाँ परिभाषा दिन सक्नेछ।

ताजा समाचार

Related Articles