प्रदीप सम्राट,रौतहट ।
आषाढ १२ गते,बिहीबार ।
रौतहटको गरुडा नगरपालिकामा कृषि उपजको संरक्षण तथा व्यवस्थापनका लागि अत्यावश्यक मानिएको शीतभण्डार (कोल्ड स्टोर) निर्माणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। नगरप्रमुख कन्थमनी प्रसाद जैसवालको प्रमुख आतिथ्यमा आयोजित एक विशेष समारोहबीच बुधबार कोल्ड स्टोर भवनको शिलान्यास सम्पन्न गरिएको हो।
शिलान्यास गर्दै नगरप्रमुख जैसवालले कृषकहरूको हितलाई केन्द्रमा राख्दै नगर क्षेत्रभित्र पहिलो पटक शीतभण्डारको निर्माण प्रारम्भ भएको जानकारी गराउँदै निर्माण कार्य यथासिघ्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए। “हाम्रो नगरका कृषकहरू बर्षौंदेखि उपज भण्डारण गर्न नसक्दा घाटामा परिरहेका छन्। अब त्यो समस्या समाधान हुने दिशामा ठोस पाइला चालिएको छ,” उनले भने।
करिब २ करोड रुपैयाँको लागतमा निर्माण हुने यो शीतभण्डार ५०० मेट्रिक टन क्षमताको हुनेछ, जसले गरुडा नगरपालिका मात्र नभई आसपासका स्थानीय तहका कृषकलाई समेत प्रत्यक्ष लाभ पुर्याउने विश्वास गरिएको छ। नगरप्रमुख जैसवालका अनुसार, उक्त परियोजनामा संघीय सरकारको पनि महत्वपूर्ण आर्थिक सहयोग रहेको छ।
शीतभण्डार निर्माणको समाचार सार्वजनिक भएसँगै स्थानीय कृषकहरूमा व्यापक उत्साह देखिएको छ। विशेष गरी तरकारी तथा फलफूल उत्पादन गर्ने किसानहरू, जो विगतमा उत्पादन पछि उपयुक्त भण्डारण सुविधाको अभावमा बाध्यतावश औने मोलमा उपज बेच्नुपरेको पीडामा थिए, उनीहरूमा अब उत्पादन सुरक्षित राखेर उचित मूल्य प्राप्त गर्ने आशा पलाएको छ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवाहरू, स्थानिय कृषक समुदाय तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले कृषिमा आधुनिकीकरणको युग सुरु भएको भन्दै नगरपालिकाको प्रयासको खुलेर प्रशंसा गरे।

