बृन्दावन–७ सखुआ धमौरामा तीन दिने गाईगोठ सुधार तथा प्राङ्गारिक मल व्यवस्थापन तालिम सम्पन्न

प्रदीप सम्राट, रौतहट ।

आषाढ १२ गते, बिहीबार ।

रौतहटको बृन्दावन नगरपालिका – ७ सखुआ धमौरामा स्थानीय कृषकहरूलाई लक्षित गरी AEIN को आर्थिक सहयोग र ROYM को आयोजनामा रुपान्त्रण परियोजना अन्यार्गत तीन दिने “गाईगोठ सुधार तथा प्राङ्गारिक मल व्यवस्थापन सम्बन्धी तालिम” सफलतापूर्वक सम्पन्न गरिएको छ। तालिम २०८२ साल असार ९ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको थियो।

तालिममा कुल ३७ जना कृषकहरूको सहभागिता रहेको थियो, जसमा ३३ जना महिला र ४ जना पुरुष सहभागी थिए। महिला सहभागिता उल्लेखनीय रूपमा उच्च देखिएको यो तालिमले स्थानीय कृषि प्रणालीमा सुधार ल्याउने देखिएको छ।

तालिमको पहिलो दिन सहभागीहरूलाई गाईगोठ सुधार गर्ने तरिका, गोबर तथा गहुँतको व्यवस्थापन, प्रयोग विधि तथा माटो सुधार सम्बन्धी सीप प्रदान गरियो। स्थानीय स्तरमा सहजै उपलब्ध स्रोतसाधनको उपयोग गरेर गोठलाई सरसफाइयुक्त, स्वस्थ र उत्पादनमैत्री बनाउने उपायहरूबारे व्यावहारिक जानकारी दिइयो।

तालिमको दोस्रो दिन सहभागीहरूले प्राङ्गारिक विषादी बनाउने तरिका, हरिया मलको तयारी प्रक्रिया, पीनाको मल, कुखुराको सुली मल तथा गड्यौला मल बनाउने विधिमा गहिरो प्रशिक्षण प्राप्त गरे। रासायनिक मलको सट्टामा आफ्नै प्रयासमा प्राङ्गारिक मल उत्पादन गरी लागत घटाउने र उत्पादनमा सुधार ल्याउने कुरामा जोड दिइएको थियो।

तालिमको अन्तिम दिन ट्राईकोडर्मा कल्चर तथा स्टूडमोनस कल्चर गर्ने विधि सम्बन्धी जानकारी दिइयो। साथै कम्पोस्ट मल उत्पादनको सम्पूर्ण प्रक्रिया व्यावहारिक रूपमा सिकाइयो। यी जैविक प्रविधिहरूले माटोको उर्वराशक्ति बढाउने, बालीलाई रोगप्रतिरोधी बनाउने र दीर्घकालीन रूपमा माटोको संरचना सुधार गर्ने विश्वास गरिएको छ।

तालिमको क्रममा सहभागीहरूले आफ्ना अनुभवहरू आदान–प्रदान गर्दै सिकेका कुराहरू आफ्ना खेतबारीमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम सम्पन्न भएसँगै स्थानीय कृषकहरूलाई प्राविधिक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता आयोजक संस्थाले व्यक्त गरेको छ भने उक्त तीन दिने तालिममा प्रशिक्षक पप्पु साह, बचेलाल पंडितले प्रशिक्षण दिनु भएको थियो ,साथै वृन्दावन नगरपालिकाका पशु तथा कृषि शाखाबाट अनुगमन तथा कक्षा लिएको जिल्ला कार्यक्रम संयोजक अरविन्द कुमार चौधरीले जानकारी दिएका हुन् ।

ताजा समाचार

Related Articles