प्रदीप सम्राट, रौतहट ।
कार्तिक २६ गते, बुधबार ।
बृन्दावन नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । नगर विकास र सुशासनलाई संस्थागत रूप दिनका लागि नगर प्रमुख विनोद प्रसाद कुर्मीको नेतृत्वमा सुरु गरिएको यो भवन निर्माण अहिले धमाधम भइरहेको छ ।
नगर प्रमुख कुर्मीले मंगलबार निर्माणधीन प्रशासनिक भवनको अवलोकन गर्दै मिस्त्री र इन्जिनियरहरुलाई छिटो र गुणस्तरीय ढंगले काम सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ । उहाँले स्थानीय जनप्रतिनिधि, ठेकेदार कम्पनीका प्राविधिक तथा कामदारहरुसँग प्रत्यक्ष संवाद गर्दै निर्माण कार्यमा कुनै पनि प्रकारको ढिलासुस्ती हुन नदिन आग्रह गर्नुभएको हो ।
बृन्दावन नगरपालिकाको कार्यालय रहेको विश्रामपुरस्थित सरकारी जग्गामा प्रशासनिक भवनको शिलान्यास २०८० असार ११ गते नगर प्रमुख कुर्मी स्वयंले गर्नुभएको थियो । करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यो भवन आधुनिक प्रविधियुक्त, भूकम्प प्रतिरोधी तथा लिफ्टसहितको चारतले सुविधा सम्पन्न भवन हुने बताइएको छ ।
निर्माणको प्रारम्भिक अवधारणा अनुसार भवनमा पर्याप्त कार्यालय कोठा, बैठक हल, नागरिक सहायता कक्ष, सूचना प्रविधि केन्द्र, महिला तथा बालबालिका अनुकूल कक्षहरू, शौचालय र पार्किङ स्थल समेत रहनेछन् । भवनले नगरपालिकाका सबै शाखाहरूलाई एउटै प्रशासनिक संरचनामा ल्याएर सेवा प्रवाहलाई अझ सहज, पारदर्शी र द्रुत बनाउन सहयोग गर्ने नगर प्रमुख कुर्मीको विश्वास छ ।
उहाँले भन्नुभयो, “निर्वाचित हुनु अघि मैले वाचा गरेको थिएँ— नगरवासीलाई सुविधा सम्पन्न प्रशासनिक भवन दिने । आज त्यो वाचा पूरा हुने दिशामा हामी दृढताका साथ अघि बढिरहेका छौं । यो भवन बृन्दावनको गौरव बन्नेछ ।”
भवन निर्माणका लागि करिब दुई वर्षको समयावधि निर्धारण गरिएको छ । ठेक्का कम्पनीले निर्धारित समयमै उच्च गुणस्तर कायम राख्दै भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीय बासिन्दाहरूले समेत नगर प्रमुखको यो पहलको स्वागत गर्दै “सपना साकार हुँदैछ” भन्दै खुशी व्यक्त गरेका छन् ।

