रौतहटमा महिलाको निर्मम हत्या : घरको भुसको थुप्रोभित्र लुकाइएको अवस्थामा शव फेला

प्रदीप कुमार दास ,

रौतहट, ०९ मंसिर ।

रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको हत्या गरिएको घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ। भयानक रूपमा हत्या गरिएकी २५ वर्षीया तरिमा खातुनको शव घरभित्रै लुकाइराखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो।

प्रहरीका अनुसार वैदेशिक रोजगारीमा साउदी अरब रहेका शेख आदिलकी पत्नी तरिमा खातुन सोमबार राति नै हत्या गरिएको अनुमान गरिएको छ। उनको शव घरको पछाडितिर रहेको भुसको थुप्रोभित्र खाडल खनेर गाडिएको अवस्थामा मंगलबार बिहान भेटिएको हो।

स्थानीयवासीहरूले घरबाट असामान्य दुर्गन्ध निस्किन थालेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले घरको भित्री भागमा खाडल खनेर लुकाइराखिएको अवस्थामा अत्यन्तै क्षत-विक्षत अवस्थामा शव भेटाएको जनाएको छ। शवको अवस्थितिलाई हेर्दा दुराचारको आशंका समेत उब्जिएको प्रहरीले बताएका छन्।

घटना सार्वजनिक भएसँगै खातुनका ससुरा शेख अली मोहम्मदसहित घरका सबै सदस्य डेढ वर्षीय नाति मोहम्मद आरिफलाई लिएर फरार रहेको प्रहरीले पुष्टि गरेको छ। सबै परिवारजन फरार भएपछि घटनालाई योजनाबद्ध र गम्भीर आपराधिक गतिविधि मान्दै प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको छ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ। गाउँमा भय र आक्रोश फैलिएको छ भने स्थानीयवासीहरूले पीडितका लागि न्यायको माग गर्दै दबाबमूलक कदम चाल्न थालिएका छन्।

प्रहरीले फरार अभियुक्तहरूको चाँडो समातिनलाई सर्वसाधारणको सहयोग पनि मागेको छ।

ताजा समाचार

Related Articles