काठमाडौं । काठमाडौंबाट दुई थान हतियार चोरीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने दिलीप माझी, ताहाचल बस्ने कुशल मल्लिक र काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने काजल कुमारी भुजेल रहेका छन् ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गत मंसिर १६ गते ताहाचलस्थित पुष्प जोशीको घरबाट इजाजत पत्र सहितको दुई नाले ४१० बोरको टोटावाल बन्दुक र जेड २१६२२९ को २२ बोरको राइफल गरी २ थान हतियारहरू चोरी भएको थियो ।