प्रदिप कुमार दास, रौतहट |
असोज ०६ गते, आईतबार
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा अवस्थित ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले आयोजना गरेको “परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ। यो कार्यक्रमको उद्देश्य प्रहरी र स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै शान्ति सुरक्षाका लागि समन्वयात्मक प्रयासलाई अघि बढाउनु रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) कमल कुमार लुङ्गेली उपस्थित थिए। साथै, जिल्ला सभापति राम अयोध्या यादव, नगर प्रमुख राम लाल साह, नगर उपप्रमुख प्रणिया देवी, वडा नं ६ का वडाध्यक्ष विष्णु प्रसाद दास र स्थानीय समाजका भद्रभलादमी, बुद्धिजीवी, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक, पूर्व प्रहरी कर्मचारी तथा संचारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले कार्यक्रममा सहभागीहरूसँग देवाही गोनाही नगरपालिकामा रहेको वर्तमान सुरक्षा अवस्था, अपराध रोकथामका उपायहरू र शान्ति सुरक्षाका लागि थप उपायहरूको बारेमा विस्तृत छलफल गरेका थिए। उनले स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँगको सहकार्यमा अपराधको न्यूनिकरण र नियन्त्रणका उपायहरूबारे गम्भीर चर्चा गरे।
कार्यक्रमको क्रममा उपस्थित विभिन्न व्यक्तिहरूले आफ्ना क्षेत्रका समस्याहरू र प्रहरीसँग गर्नुपर्ने समन्वयबारे सुझावहरू पनि प्रस्तुत गरे। वडा अध्यक्ष विष्णु प्रसाद दासले आफ्नो क्षेत्रमा देखिएको कानुनी समस्या, अपराध र अन्य सामाजिक विकृतिहरूलाई रोक्न प्रहरी प्रशासनसँग अझै नजिकबाट सहकार्य आवश्यक रहेको कुरा राखे। त्यस्तै, नगर प्रमुख राम लाल साहले प्रहरीले विगतमा गरेका कामहरूको प्रशंसा गर्दै भविष्यमा पनि शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा जिल्ला सभापति राम अयोध्या यादवले जनताले प्रहरीप्रति विश्वास गर्ने वातावरण सिर्जना गर्न प्रहरी र स्थानीय निकायबीच सधैं आपसी संवादको आवश्यकता रहेको बताए।
यस परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरूले प्रहरी प्रशासनसँग थप सहयोग र समन्वय गर्नुपर्नेमा सहमति जनाउँदै, अपराध नियन्त्रण र सामाजिक सुरक्षामा सबैको साथ आवश्यक रहेको कुरामा जोड दिए।
अन्ततः कार्यक्रम समापनको क्रममा प्र.नि. कमल कुमार लुङ्गेलीले स्थानीय तह र प्रहरी प्रशासनबीच सधैं राम्रो सम्बन्ध रहनु पर्नेमा जोड दिँदै, आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरिने जानकारी गराए।