प्रदिप कुमार दास, रौतहट ।
असोज १८ गते,शुक्रबार ।
रौतहट जिल्ला ईशनाथ नगरपालिका वडा नं १ बन्जरहामा हालै आएको बाढीले ठूलो क्षति पुर्याएको छ। अविरल वर्षाका कारण आएको बाढीले धेरै घरधुरी प्रभावित बनाएका छन्, जसका कारण स्थानीय जनता ठूलो संकटमा परेका छन्। यो संकटको समयमा नगर प्रमुख श्रीमती कौशल्या देवीको नेतृत्वमा राहत वितरणको कार्यलाई तीव्र बनाइएको छ।
उहाँसँगै उप प्रमुख मो. परवेज, नि. प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता, वडा नं १ का वडा अध्यक्ष बिगु साह, वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र साह र वडा नं ४ का वडा अध्यक्ष शत्रुधन सिंहको सहभागितामा पीडित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको छ।
बाढीको क्षति निरीक्षण गर्दै नगर प्रमुखले प्रत्येक पीडित घरधुरीलाई आवश्यक खाद्यान्न र अन्य सामाग्री वितरण गर्ने कार्यलाई प्राथमिकता दिएका छन्। राहत सामग्रीमा १५ केजी चामल, ५ केजी आलु, २.५ केजी प्याज, २ केजी दाल, १ केजी खाने तेल र २ प्याकेट नुन उपलब्ध गराइएको छ। यस प्रकारको राहतले पीडित परिवारहरुलाई तत्कालिन आवश्यकता पूर्ति गर्न सहयोग पुगेको छ।
बन्जरहा क्षेत्रमा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको र यो वडामा राहत वितरणलाई एकद्धार प्रणालीबाट व्यवस्थित गरिएको नगर प्रमुख कौशल्या देवीले जानकारी दिनुभयो। यस प्रणालीले राहत वितरणलाई पारदर्शी र समन्वयात्मक बनाएको छ। उहाँले थप जानकारी दिदै भनिन्, “नगरपालिकाले बाढीको क्षतिको विस्तृत विवरण संकलनलाई तीव्र बनाइरहेको छ, जसमा विशेष गरी धान, तरकारी लगायतका बालीमा पुर्याएको क्षतिको रिपोर्ट तयार गरिंदैछ। कृषि शाखाको सहयोगमा यो कामलाई छिटो सम्पन्न गरिनेछ।”
नगर प्रमुख श्रीमती कौशल्या देवीले संकटको यस घडीमा आफू अहोरात्र खटिन तयार रहेको बताउँदै, जनताको सेवा गर्नु आफ्नो प्रमुख कर्तव्य भएको उल्लेख गर्नुभयो। साथै, उहाँले प्रभावित जनताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर थप सहायता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगर प्रमुखको यस सराहनीय कार्यले सम्पूर्ण ईशनाथ नगरवासीलाई ठूलो राहत मिलेको छ। बाढीका कारण उत्पन्न कठिन परिस्थितिमा नगरपालिकाको सक्रियता र शीघ्र कार्य सम्पादनले नागरिकहरूलाई ठूलो सहयोग पुगेको छ। नगर प्रमुखको प्रयासले नगरवासीहरूलाई हर्षित बनाएको छ र यसले स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाएको छ।