ग्रामीण क्षेत्रको शिक्षामा सुधार ल्याउने आफ्नो चाहना रहेको – अर्थमन्त्री सुनिल यादव 

रामानन्द साह , रौतहट ।

कार्तिक ०६ गते , मङ्गलबार ।

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं ६ मा अवस्थित श्री माध्यमिक विद्यालय कर्कच गुठीमा मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव (सुनिल) को उपस्थितिमा एक भव्य समारोहको आयोजना गरिएको थियो । उक्त समारोहमा मन्त्री यादवले विद्यालयलाई प्रदेशस्तरीय नमुना विद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। ग्रामीण क्षेत्रको शिक्षामा सुधार ल्याउने उद्देश्यले मन्त्री यादवले विद्यालयलाई प्रदेश सरकारको प्राथमिकतामा राख्दै शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधारको विकास र शिक्षामा नयाँ प्रगतिको सम्भावनालाई अघि बढाउने आफ्नो चाहना व्यक्त गरे।

विद्यालयको वर्तमान अवस्था र त्यससँग जोडिएका चुनौतीहरूलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यालयमा विद्यार्थी संख्या रहेको भए पनि शिक्षाको स्तर कमजोर रहेको र भौतिक पूर्वाधार न्यून रहेको कारण ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन कठिनाइ भोग्नुपरेको बताए। विद्यालयको आफ्नै निजी स्रोत नहुनु र अभिभावकहरूको शिक्षामा उच्च चाहना रहनुका बावजुद, विद्यालयले आवश्यक स्रोतसाधनहरूको अभावमा संघर्ष गरिरहेको उनले प्रस्ट पारे।

यसै सन्दर्भमा यादवले विद्यालयलाई प्रदेशस्तरीय नमुना विद्यालय बनाउने आफ्नो प्राथमिकता रहेको र यसका लागि आवश्यक कदमहरू चाँडै नै उठाइने बताए। मन्त्री यादवको भनाइ अनुसार नमुना विद्यालय निर्माणले शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्नेछ, जसबाट अन्य ग्रामीण विद्यालयहरूलाई पनि प्रेरणा मिल्नेछ।

समारोहमा विद्यालयका प्रधानाध्यापक पवन कुमार यादवले विद्यालयको वर्तमान अवस्थाको चर्चा गर्दै भविष्यमा विद्यालयलाई अझ राम्रो बनाउने संकल्प व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद यादवले पनि समुदायको सहयोग र सरकारको समर्थनले विद्यालयलाई उत्कृष्ट शिक्षा केन्द्रको रूपमा परिणत गर्न मद्दत पुग्ने बताए।

उक्त कार्यक्रममा मेयर प्रत्यासी सुरेश प्रसाद यादव, वडा नं ६ का वडाध्यक्ष विष्णु दास, वडा नं ७ का वडाध्यक्ष उपेन्द्र राय यादव, वडा प्रत्यासी भोला राय, स्थानिय नेता मोहम्मद ल्याकत र राजकिशोर यादव लगायतका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहको समापनमा मन्त्री यादवको प्रतिबद्धता प्रति अभिभावकहरूले अत्यधिक प्रसन्नता व्यक्त गरे। विद्यालयमा सुधारको खाका प्रस्तुत गर्दै उनले गरेको घोषणा प्रति सहभागीहरूले आभार प्रकट गर्दै यस कदमलाई ग्रामीण शिक्षाको उन्नतिका लागि ऐतिहासिक कदमका रूपमा स्वागत गरे। उपस्थित अभिभावकहरूले यस प्रकारको सराहनीय कार्यले शिक्षा क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने विश्वास व्यक्त गरेका छन्।

ताजा समाचार

Related Articles