मेयर रिना साहको लोकप्रिय कार्यक्रम ‘बेटी के साथ मेयर’ अन्तर्गत ७५ परिवारलाई चेक हस्तान्तरण

रानी साह, रौतहट ।

कार्तिक ७, बुधवार ।

रौतहटको मौलापुर नगरपालिकामा ‘बेटी के साथ मेयर’ कार्यक्रमको लोकप्रियता दिनानुदिन बढ्दो छ। यस कार्यक्रमको चर्चा मधेस प्रदेशमा मात्र सीमित नभई छिमेकी मुलुक भारतको बिहार राज्यसम्म फैलिएको छ। मौलापुरकी मेयर रिनाकुमारी साहको पहलमा सञ्चालन भएको यो कार्यक्रमले नगरको जनसमर्थन र प्रशंसा पाइरहेको छ।

बुधबार नगरपालिकामा आयोजित एक विशेष समारोहमा ‘बेटी के साथ मेयर’ कार्यक्रम अन्तर्गत ७५ परिवारलाई जनही ३०/३० हजार रुपैयाँको चेक वितरण गरियो। यो कार्यक्रमले गरिब, असहाय छोरीहरूको विवाहका लागि कानूनअनुसार आवश्यक उमेर पुगेपछि ३० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

समारोहमा मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले हालसम्म हजारौं परिवारले यस कार्यक्रमबाट लाभान्वित भएको जानकारी दिए। “छोरीहरूको विवाहको समयमा नगरपालिकाले ३० हजार सहयोग गर्दै आएको छ। विभिन्न कारणले छुटेका परिवारहरूलाई चेक वितरण गरिएको हो,” साहले भने।

चेक पाउनेमध्ये एक, मैना देवीले, छोरीको विवाहका लागि चेक पाउन ढिलो भए पनि नगरपालिकाले आवश्यक पहल गरेकामा खुशी व्यक्त गरिन्। उनले भनिन्, “छोरीको विवाहको बेला खर्च धेरै हुन्छ, तर नगरपालिकाले गरेको सहयोग निकै महत्वपूर्ण छ। परिवारको स्वास्थ्य, छोराछोरीको शिक्षा लगायतका क्षेत्रमा पनि नगरपालिकाको काम राम्रो भएकाले हामी खुसी छौं।”

शुशिला देवीले मौलापुर नगरपालिकाले गरेको यस कार्यको प्रशंसा गर्दै भनिन्, “रकम सानो भए पनि हाम्रो लागि ठूलो सहयोग हो। मेयर रिना दिदीले हामीलाई माया र स्नेह दिनुभएको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु। उहाँको कामले हामीलाई प्रेरित बनाएको छ।”

त्यस्तै, अर्का सेवाग्राही धर्मेन्द्र यादवले मेयर साहको कार्यको प्रशंसा गर्दै भने, “छोरीको विवाह होस् वा मालपोत करको सिफारिस, हामीले कुनै शुल्क तिर्नुपर्दैन। फ्रि बिजुली, फ्रि पानी लगायतका कार्यक्रमले जनताले प्रत्यक्ष फाइदा लिएका छन्। म त भन्छु, यी कार्यक्रमहरू अरू पालिकाहरू र मधेस प्रदेश सरकारले पनि सिक्नुपर्छ।”

मेयर रिना साहको पहलमा ‘बेटी के साथ मेयर’ कार्यक्रम मात्र नभई, ‘फ्रि बिजुली, फ्रि पानी’ जस्ता महत्वपूर्ण योजनाहरू पनि लागू भएका छन्। साथै, नागरिकता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका सेवाहरूको शुल्कलाई शून्य बनाइएको छ। शून्य शुल्कको नीतिले नगरवासीहरूमा उत्साह र खुशी थपेको छ।

मधेस प्रदेशकी एक मात्र महिला मेयरको रूपमा चिनिएकी रिनाकुमारी साहको जनताप्रति समर्पित कार्यले उनलाई चौतर्फी चर्चामा ल्याएको छ। जनताको पक्षमा गरेको प्रभावकारी कार्यले मौलापुरका सर्वसाधारणदेखि बाहिरी क्षेत्रका व्यक्तिहरू समेत उनीप्रति विश्वास व्यक्त गरिरहेका छन्।

ताजा समाचार

Related Articles