रानी साह, रौतहट ।
कार्तिक ०८ गते ,बिहीबार ।
रौतहटमा टेवा नेपाल र महिला सुरक्षा दबाब समूह रौतहटको संयुक्त पहलमा, आर्थिक रूपमा निम्न वर्गका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सिलाइ मेशिन र बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रम अन्तर्गत, चन्द्रपुर नगरपालिका वार्ड नं. २ की सानुमाया राई र वार्ड नं. १ की सञ्चिता थापालाई दुई-दुई वटा बाख्रा अनुदानस्वरूप प्रदान गरिएको छ। यस्तै, वार्ड नं. ९ चेतननगरकी सुनिता महरा र बनबहुअरी सातकी अञ्चला कुमारी चौधरीलाई एक-एक थान सिलाइ मेशिन अनुदानस्वरूप प्रदान गरिएको छ।
महिलाहरूलाई सशक्त बनाउन र उत्पादनशील बनाउँदै उन्नत समाजको निर्माण गर्ने उद्देश्यका साथ यो अनुदान वितरण गरिएको महिला सुरक्षा दबाब समूह रौतहटकी अध्यक्ष देबकी नेपालले बताउनुभयो। वहाँका अनुसार, अनुदानको कुल लागत चउन्न हजार रुपैयाँ बराबर रहेको छ।
यस वितरण कार्यक्रममा महिला सुरक्षा दबाब समूह रौतहटकी अध्यक्ष देबकी नेपाल, सप्तरङ्गी नेपालकी जीना राना, समाजसेवी बिनोद दुलाल तथा अन्य स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैले महिलाहरूको सशक्तिकरणका लागि उत्पादनका साधनहरूको पहुँच विस्तारले उनीहरूको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
टेवा नेपालले देशभरका विभिन्न पालिकाहरूमा विभिन्न स्थानीय संस्थाहरूको सहकार्यमा, आर्थिक रूपमा कमजोर वर्गका महिलाहरूलाई विभिन्न प्रकारका अनुदान कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गत महिलाहरूलाई व्यावसायिक अवसरहरू प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ। सिलाइ मेशिन, बाख्रा, कृषि उपकरणहरू जस्ता उत्पादनशील साधनहरू प्रदान गरेर टेवा नेपालले ग्रामीण तथा निम्न वर्गका महिलाहरूलाई सीपमूलक उद्यममा सहभागी गराउँदै आएको छ।