विकास निर्माणका लागि कार्यपालिकालाई समेत सक्रिय बनाउँदै कार्यमा जुटे अध्यक्ष शम्भु सिंह

प्रदिप कुमार दास, रौतहट ।

कार्तिक ०८ गते , बिहीबार ।

रौतहटको दुर्गाभगवती गाउँपालिकामा हाल दीपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सडक मर्मत तथा सरसफाइको काम तीव्र रुपमा भइरहेको छ। वर्षायाममा आएको बाढीका कारण पालिकाभित्रका सडकहरूमा ठूलो क्षति पुगेपछि गाउँपालिकाले चाँडै पुनर्निर्माण र सरसफाइको कामलाई प्राथमिकता दिएको छ। गाउँपालिकाका सबै वडा कार्यालयहरू यस कार्यमा सक्रिय भएका छन् र सडक मर्मतका लागि स्थानीयलाई तीन पटकसम्म सूचना जारी गर्दै जानकारी गराइएको थियो।

गाउँपालिकाको यो अभियानको नेतृत्व अध्यक्ष शाम्भु सिंहले गरेका छन्, जसले आफ्नो पालिकालाई विकासको नयाँ दिशातर्फ लैजाने लक्ष्यका साथ कार्यपालिकालाई समेत सक्रिय बनाउँदै कार्यमा जुटेका छन्। अध्यक्ष सिंहले विशेष गरी असोज महिनामा बागमती नदीमा आएको बाढीले पाँच वटा पालिकामा ठूलो क्षति पुर्याएको र ती सडकहरूलाई छठ पर्व अगावै यात्रुहरूको आवतजावतमा सहज बनाउन पहल भइरहेको जानकारी दिए। अविरल वर्षासँगै आएको बाढी र पहिरोले क्षतिग्रस्त बनाएका सडकहरूलाई समयमै पुनर्निर्माण गरेर सुरक्षित बनाउन गाउँपालिकाले पहल गरिरहेको छ।

अध्यक्ष सिंहका अनुसार, “हामीले दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै खाल्डाखुल्डी पुर्ने, रुख काट्ने तथा रंगरोगन गर्ने कार्य तीव्रता दिएका छौं।” उनले हिन्दूहरूको महान् पर्वको अवसरमा यातायातको चापलाई ध्यानमा राख्दै ती कार्यहरूलाई तीव्र पारिएको जानकारी दिए। गाउँपालिकाले सुकदेव चौकदेखि गंगापिप्रा सडकखण्डसम्मको मर्मत कार्यमा जेसिबी प्रयोग गरेर काम गरिरहेको छ।

दुर्गाभगवती गाउँपालिकामा मात्र होइन, गढीमाई नगरपालिका, राजपुर नगरपालिका र माधवनारायण नगरपालिकाले पनि वर्षाको समयमा बाढीले क्षति पुर्याएका सडकहरूको मर्मत कार्यलाई प्राथमिकता दिएका छन्। ती पालिकाहरूले स्थानीय तहका बासिन्दाहरूलाई सरसफाइ अभियानमा सहभागी गराउँदै बाटोका खाल्डाखुल्डी पुरेर आवागमनमा सहजता ल्याउने प्रयास गरिरहेका छन्।

दीपावली र छठ पर्वमा विशेष गरेर रौतहटका विभिन्न ठाउँहरूमा भक्तजनहरूको भीड हुने भएकाले स्थानीय तहहरूले सडक विस्तार, सरसफाइ र मर्मतलाई प्राथमिकतामा राख्दै काम गरिरहेका छन्। गाउँपालिकाले सडक विस्तारको कार्यलाई तीव्रता दिन स्थानीयलाई सहजीकरण गर्न पटकपटक सूचना जारी गरेर जानकारी गराउँदै आएको छ। यसै क्रममा, गाउँपालिकाका अध्यक्ष सिंहले छठ पर्वको अवसरमा पालिकाभित्रको विकास र पुनर्निर्माणका कार्यलाई निरन्तरता दिने आश्वासन दिए।

ताजा समाचार

Related Articles