एमालेलाइ ठुलो बनाउन दल बिभाजनको अध्यादेश ल्याउन खोजियो:माधब नेपाल

रौतहट,कात्तिक 12/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेलाई ठुलो र बलियो बनाउने उद्देश्यसहित दल विभाजनका लागि अध्यादेश ल्याउन खोजिएको बताएका छन्।
समाजवादी प्रेस संगठन नेपाल कास्की जिल्ला समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले यस्तो दाबी गरेका हुन्। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सत्तासाझोदार प्रमुख दल नेपाली कांग्रेसलाई भ्रममा पारेर एमालेलाई ठुलो पार्टी बनाउने उद्देश्यका साथ अध्यादेश ल्याउन खोजेको नेपालको भनाइ थियो।
आवश्यकताभन्दा पनि पूर्वाग्रहका साथ अध्यादेश ल्याएर साना दलहरूलाई आफ्नो स्वार्थअनुकूल फुटाएर एमालेमा समाहित गरी ठुलो पार्टी बनाउने उद्देश्य ओलीको रहेको अध्यक्ष नेपालको आरोप छ। देशमा दुईदलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन खोजिएको नेपालले बताए।
ओली नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न र सुशासनका लागि काम गर्न नसकेको, देखिएका समस्या समाधान गर्न इमानदार भएर काम नगरेको नेपालको आरोप छ। सरकारले काम गर्नेभन्दा बोल्ने मात्र गरेको टिप्पणी गर्दै उनले जनताको पीडा सम्बोधन र समस्या समाधान गर्न नसकेको, विपतमा सरकारले आफ्नो भुमिका देखाउन नसकेको तथा सहकारीपीडितका समस्या सम्बोधन गर्न नसकेको बताए।
अध्यक्ष नेपालले सहकारी ठगीमा दोषी देखिएकालाई छाड्ने र निर्दोषलाई फसाउने काम नहोस् भन्दै निष्पक्ष छानबिन गर्न र सहकारीहरूको अनुगमन प्रणालीलाई बलियो बनाउन सरकारलाई आग्रह गरे।
अर्को प्रसंगमा अध्यक्ष नेपालले आगामी १५ मंसिरका लागि तय भएको स्थानीय तह उपनिर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धामा उत्रने बताउँदै पार्टीले केही स्थानमा उम्मदेवार घोषणा गरिसकेको जानकारी दिए।
नेपालको मौसमलाई ठ्याक्कै पूर्वानुमान गर्न नसकिएजस्तै यहाँको राजनीतिक अवस्थासमेत त्यस्तै रहेको भनाइ उनको थियो। सत्तासमीकरण कहिले कस्तो हुन्छ त्यो अनुमान गर्न नसकिने भन्दै नेपालले हाल सत्तातिर जाने विषयमा कुनै चासो नरहेको र सरकारबाहिर बसेरै पार्टीलाई बलियो बनाउनेतर्फ आफूहरू लागेको बताए।

स्रोत:नयाँ पत्रीका दैनिक।

ताजा समाचार

Related Articles