रौतहटको विजयपुरमा विद्यार्थीलाई स्कुल ड्रेस वितरण

प्रदीप कुमार दास, रौतहट ।

मङ्सीर १२ गते,बुधवार ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ स्थित विजयपुरको पिपल टोलमा रहेको माँ सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरिएको छ। बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत करिब दुई सय विद्यार्थीलाई ०८०/८१ को छात्रवृत्ति कोषबाट उक्त ड्रेस वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुबोध प्रसाद यादवले जानकारी दिए।

प्रधानाध्यापक यादवका अनुसार सरकारी छात्रवृत्ति योजनाअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई प्रोत्साहित गर्न र विद्यालयमा नियमित उपस्थित गराउन यो कदम चालिएको हो। ड्रेस वितरणपछि विद्यार्थी र अभिभावकहरूमा खुशी देखिन्थ्यो।

कार्यक्रममा बोल्दै शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादवले यस्तो किसिमको वितरणले विद्यार्थीहरूको अनुशासन र विद्यालयप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरे। उनले भने, “पठनपाठनलाई सहज बनाउने र विद्यार्थीहरूलाई नियमित विद्यालय पठाउने मुख्य उद्देश्यका साथ यो कदम चालिएको हो।”

कार्यक्रममा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले शिक्षा क्षेत्रलाई प्राथमिकता दिने आफ्नो प्रतिबद्धता दोहोर्याइन्। खातुनले भनिन्, “स्थानीय निर्वाचनमा हामीले शिक्षा, स्वास्थ्य र रोजगारलाई पहिलो प्राथमिकतामा राख्ने वाचा गरेका थियौं। यो स्कुल ड्रेस वितरण पनि शैक्षिक सुधारको एउटा महत्वपूर्ण हिस्सा हो। यसले यहाँ अध्ययनरत विद्यार्थीहरूलाई थप टेवा पुर्याउनेछ।”

उनले विद्यार्थीको लगाव र प्रगतिको सुरुवात आधारभूत सुविधाबाटै हुने भएकाले नगरपालिकाले शिक्षा क्षेत्रमा सक्रियता देखाएको स्पष्ट पारिन्। खातुनले आगामी दिनमा विद्यालयको पूर्वाधार विकास र गुणस्तरीय शिक्षामा थप लगानी गर्ने योजना रहेको पनि बताइन्।

ड्रेस वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल राय, पूर्व प्रधानाध्यापक महेन्द्र यादव, शिक्षक-शिक्षिका, अभिभावक र स्थानीय बुद्धिजीवीहरूको पनि उल्लेख्य उपस्थिति थियो। अभिभावकहरूले नगरपालिकाको यो पहललाई प्रशंसा गर्दै स्थानीय नेतृत्वबाट शिक्षा क्षेत्रमा थप सुधारका अपेक्षा व्यक्त गरे।

विद्यालयको नाममा यो पहिलो पटक भएको ड्रेस वितरण कार्यक्रम विद्यार्थीहरूको लागि विशेष महत्त्वपूर्ण रह्यो। एक विद्यार्थीले खुसी व्यक्त गर्दै भनिन्, “यो नयाँ ड्रेसले मलाई पढ्न जाँदा गर्व महशुस हुन्छ।” स्थानीय अभिभावकहरूका अनुसार यस्तो कार्यक्रमले गरिब तथा विपन्न वर्गका बालबालिकालाई शिक्षा क्षेत्रमा आकर्षित गर्न मद्दत गर्नेछ।

कार्यक्रमले विद्यार्थीहरूमा मात्र होइन, अभिभावक र शिक्षकहरूमा पनि सकारात्मक ऊर्जा थपेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रायले भने, “यस किसिमका कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै विद्यालयप्रति उनीहरूको आकर्षण पनि बढ्छ। आगामी दिनमा विद्यालयका अन्य आवश्यकता पूरा गर्न पनि हामी स्थानीय तहसँग सहकार्य गर्नेछौं।”

ताजा समाचार

Related Articles