प्रदीप कुमार दास, रौतहट ।
मङ्सीर २० गते,बिहीबार ।
रौतहटको गढीमाई नगरपालिका-४ सुन्दरपुरमा आयोजित पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा भोजपुरी सुपरस्टार खेसारीलाल यादव र नेपाली कलाकार रचना शिवाकोटीको प्रस्तुतिले हजारौं दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ। यादव र शिवाकोटीले संयुक्त रूपमा घण्टौंसम्म नृत्य गर्दै चर्चित गीतहरूको प्रस्तुति दिएको थियो ।
भारत र नेपालका विभिन्न स्थानबाट लाखौं दर्शकहरू मेलामा सहभागी भएका थिए । कलाकार यादवले आफ्ना गीतहरू र हास्यव्यंग्य प्रस्तुतीमार्फत दर्शकलाई झुमाएका थिए भने शिवाकोटीले पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
मेलामा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टलहरू र मनोरञ्जनात्मक गतिविधिहरूले थप आकर्षण थपेका छन् । नगर प्रमुख श्याम प्रसाद यादव र वडा नम्बर – २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले खेसारीलाललाई विशेष निमन्त्रणा गरेका थिए ।
मंसिर १७ गते सुरु भएको यो मेला २६ गतेसम्म चल्नेछ । आयोजकका अनुसार यो मेलाले धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व उजागर गर्नुका साथै क्षेत्रीय पहिचान विस्तार गर्न मद्दत गरेको छ ।