प्रदीप कुमार दास, रौतहट ।
मङ्सीर २५ गते, मंगलबार ।
रौतहट जिल्लामा आज बिहान एक दर्दनाक सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। सिरहाबाट गढिमाई मेला दर्शन गरेर फर्किने क्रममा बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रपुर नगरपालिका–४ को धन्सर पुल नजिकै जंगलमा रुखमा ठोक्किँदा यो दुःखद घटना घटेको हो।
दुर्घटनामा परी ज्यान गुमाउने आठ जनामध्ये सात महिला र एक पुरुष रहेका छन् । मृतकहरू सिरहाको अर्नामा गाउँपालिकाका बासिन्दा हुन्। मृत्यु हुनेहरूमध्ये ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महंगी देवी महरा, ६२ वर्षीया फुलमन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र गाडी चालक ४० वर्षीय श्रीकुमार यादव रहेका छन् ।
घाइते पाँच जनामध्ये चार जनाको अवस्था सामान्य रहेको छ भने एकजना गम्भीर घाइते भएकी ६० वर्षीया कन्या देवी महरालाई चपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बिरगंजस्थित बयोधा अस्पतालमा रेफर गरिएको छ । घाइते अन्य व्यक्तिहरूमा ३० वर्षीया राधा राम, उनका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देव कुमारी महरा र उनका ७ वर्षीय छोरा रितिक महरा रहेका छन् ।
प्रहरीका अनुसार स्कर्पियो गाडी तीव्र गतिमा रहेको र चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएको स्थानमा रहेको रुखमा गाडी ठोक्किएपछि उक्त घटना भयावह बनेको थियो ।
मृतकका परिवार र गाउँबासीमा शोकको छायाँ छाएको छ । सिरहा र रौतहटका स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान सुरु गरेको छ । दुर्घटनापछि घाइतेहरूको उद्धार गरी नजिकैको अस्पतालमा पुर्याइएको थियो ।
गढिमाई मेला नेपालका विश्वप्रसिद्ध मेलामध्ये एक हो । यस मेलामा ठूलो संख्यामा भक्तजन सहभागी हुने गर्दछन् । यस्तो दु:खद दुर्घटनाले मेलामा सहभागी हुने दर्शनार्थीहरूको सुरक्षाको विषयमा थप चासो उत्पन्न गराएको छ ।