समाजिक सशक्तिकरण गर्दै हानिकारक अभ्यास अन्त्यका लागि स्थानिय सरकार, नागरिक समाज र साझेदार संस्थासँग सहकार्य सम्बन्धी छलफल

प्रदीप कुमार दास, रौतहट ।

मङ्सीर २८ गते,बिहीबार ।

रौतहट जिल्लाको गरुडा नगरपालिकाको सभा हलमा “समाजिक सशक्तिकरण गर्दै हानिकारक अभ्यास अन्त्यका लागि स्थानिय सरकार, नागरिक समाज र साझेदार संस्थासँग सहकार्य सम्बन्धी छलफल कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। समाजको सशक्तिकरण र परम्परागत हानिकारक अभ्यासको अन्त्य गर्न स्थानीय सरकार, नागरिक समाज, धार्मिक अगुवा र साझेदार संस्थाबीच सहकार्यको आवश्यकता औंल्याउँदै आयोजित यस कार्यक्रमले विविध पक्षको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

उक्त कार्यक्रम निरन नेपाल को आयोजनामा, आरडीसी नेपाल को समन्वयमा, गरुडा नगरपालिकाको सहकार्य तथा वर्ल्ड भिजन नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा मधेश प्रदेशका कार्यक्रम अधिकृत आशिष कुमार थारुले समाजमा व्याप्त परम्परागत हानिकारक अभ्यासका विषयमा चर्चा गर्दै यस्ता गतिविधि रोक्न स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य अपरिहार्य भएको धारणा राखेको थियो । साथै, निरन नेपालको रौतहट जिल्ला कमिटीका अध्यक्ष अनीसुर रहमानले यस प्रकारका कार्यक्रमले समुदायमा सचेतना फैलाउन र सकारात्मक परिवर्तन ल्याउन ठोस योगदान दिने बताए।

गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एमडी मुस्ताक आलमले नगरपालिकाले यस प्रकारका पहलकदमीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्तो सहकार्यले दीर्घकालीन सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य वक्ताहरूमा महिला सेल प्रमुख दीपिका झा, धार्मिक अगुवा मौलाना इर्साद अहमद, पास्टर दीपक श्रेष्ठ, पण्डित शम्भु पाण्डे लगायतले आ-आफ्नो विचार राख्दै समुदायमा भएका हानिकारक अभ्यासहरूको अन्त्यका लागि सबै तहका सरोकारवालाबीच सहकार्य आवश्यक भएको औंल्याए ।

कार्यक्रममा गरुडा नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरू, बाल क्लबका विद्यार्थीहरू, पत्रकारहरू र विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले छलफलको क्रममा बालविवाह, दाइजो प्रथा, लैंगिक असमानता र अन्य सामाजिक विकृतिहरूको अन्त्य गर्न सामुदायिक जागरूकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रम सञ्चालन दलित युवा समाजसेवी सुवा साहेब पासवानले गरेका थिए । उनले कार्यक्रमको उद्देश्य र महत्त्वलाई स्पष्ट पार्दै यस्ता छलफलले सामाजिक रूपान्तरणको बाटो सहज बनाउने विश्वास व्यक्त गरे ।

समाप्तिमा सहभागीहरूले हानिकारक सामाजिक अभ्यासहरू अन्त्य गर्न ठोस कार्ययोजना बनाउन र यसका लागि सामूहिक प्रतिबद्धता जनाउन सहमति जनाए । कार्यक्रममा प्रस्तुति, समूह छलफल र अनुभव आदान-प्रदान जस्ता गतिविधिहरूले सहभागिता उत्साहजनक बनाएको थियो । यो कार्यक्रमले स्थानीय सरकार, नागरिक समाज र साझेदार संस्थाबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै सामुदायिक विकास र सशक्तिकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ताजा समाचार

Related Articles