रौतहटको गौर नगरपालिकाले गरे विद्यालय ब्याग वितरण 

प्रदीप कुमार दास, रौतहट ।

पौष ०८ गते ,सोमबार ।

रौतहटको गौर नगरपालिकाले आफ्नो क्षेत्रका छात्र-छात्राहरूलाई शैक्षिक प्रोत्साहन प्रदान गर्न विशेष कार्यक्रमको आयोजना गर्दै कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई विद्यालय ब्याग वितरण गरेको छ। नगर प्रमुख शम्भु साहको विशेष उपस्थितिमा सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक यात्रालाई थप सशक्त बनाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा वडास्तरीय शिक्षा विकास समितिका अध्यक्ष विनोद साह कलवार, शिक्षा शाखाका प्रमुखसहित नगरपालिकाका विभिन्न प्रतिनिधिहरूको उपस्थिति थियो। साथै, विद्यालयका प्रधानाध्यापक प्रभाष कुमार ठाकुर, शिक्षकगण र कर्मचारीहरुले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख साहले विद्यार्थीहरुको शैक्षिक भविष्य उज्ज्वल बनाउन गौर नगरपालिका सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्तो कदमले विद्यार्थीहरुलाई अध्ययनप्रति थप प्रेरणा मिल्ने बताउनुभयो।

नगर प्रमुख साहले शिक्षा क्षेत्रको विकास नगरपालिकाको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो। “विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता दिई उज्ज्वल भविष्य निर्माण गर्न सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो।

विद्यालय ब्याग पाएका विद्यार्थीहरुको अनुहारमा खुशी देखिन्थ्यो। कार्यक्रममा सहभागी विद्यार्थीहरुले यो कदमले उनीहरुलाई थप अध्ययनमा प्रेरित गरेको बताउँदै नगरपालिकाप्रति आभार प्रकट गरे। यस्तै, अभिभावकहरुले पनि नगरपालिकाको यो प्रयासप्रति कृतज्ञता व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासका लागि यस्ता कार्यहरु निरन्तर हुनुपर्नेमा जोड दिए।

गौर नगरपालिकाले यस प्रकारका शैक्षिक प्रोत्साहन कार्यक्रमहरुले विद्यार्थीहरुको मनोबल उच्च बनाउन सहयोग पुर्‍याउने र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ। शिक्षा नै समृद्धिको आधार हो भन्ने मान्यतासहित नगरपालिकाले आगामी दिनमा पनि विभिन्न शैक्षिक योजनाहरु लागू गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

ताजा समाचार

Related Articles