गरुडा नगरपालिकामा १६० विपन्न परिवारलाई कम्बल वितरण

प्रदीप कुमार दास, रौतहट ।

पौष २० गते , शनिबार ।

रौतहट जिल्लाको गरुडा नगरपालिकामा जाडो मौसमको चिसोबाट नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको नेतृत्वमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा गरिब, दलित र असाहाय वर्गका १६० परिवारलाई निःशुल्क कम्बल वितरण गरिएको छ।

नगर प्रमुख जैसवालले कम्बल वितरण कार्यक्रमको उद्घाटन गर्दै भने, “नगरका कुनै पनि विपन्न नागरिकले चिसोका कारण कठ्याङग्रिएर सुत्न नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। हाम्रो प्रयास गरिब, दलित र असहाय वर्गका लागि राहत पुर्‍याउनु हो, जसले उनीहरूलाई चिसो मौसममा केही सहजता मिलोस्।”

गरुडा नगरपालिकाले यो अभियानलाई नगरका सबै नौ वडामा विस्तार गर्ने योजना बनाएको छ। नगर प्रमुख जैसवालका अनुसार प्रत्येक वडामा विपन्न वर्गका परिवारहरूको पहिचान गरी उनीहरूलाई आवश्यकताअनुसार कम्बल उपलब्ध गराइनेछ। यस अभियानले नगरका सबैजना नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यलाई प्राथमिकतामा राखेको छ।

कम्बल वितरण कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले यो कदमको सराहना गरेका छन्। दलित समुदायका एक जना स्थानीयले भने, “हामीजस्ता गरिब परिवारलाई जाडो महिनामा चिसोबाट जोगिन नगरपालिकाले दिएको यो सहयोग अमूल्य छ। हामी नगर प्रमुखप्रति आभारी छौं।”

गरुडा नगरपालिकाले सञ्चालन गरेको यो अभियान स्थानीय सरकारको सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण बनेको छ। जाडो मौसमको सुरुआतसँगै नगरपालिकाले गरेको यो पहलले गरिब र असाहाय वर्गको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

नगर प्रमुख जैसवालले कार्यक्रममा स्थानीय समुदाय र दाताहरूलाई यस प्रकारका सहयोगका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्। उनले भने, “नगरपालिकाको प्रयास मात्र पर्याप्त हुँदैन। सबैले आफ्नो स्थानबाट सहयोग गरेमा हामीले समाजलाई अझ न्यायोचित र समान बनाउन सक्नेछौं।”

ताजा समाचार

Related Articles