रूपेश यादव, रौतहट ।
पौष २३ गते, मंगलबार ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका–१० स्थित श्री माध्यमिक विद्यालय दुधिअवामा आयोजित एकदिने विज्ञान प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको वैज्ञानिक सोच र सिर्जनशील क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनी बिहान ११ बजे विद्यालय परिसरमा सुरु भई दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक रबिन्द्र प्रसाद साहका अनुसार हरेक वर्ष आयोजना गरिने यो कार्यक्रमले विद्यार्थीहरूलाई विज्ञान र प्रविधिमा अभिरुचि जगाउन तथा उनीहरूको प्रयोगात्मक क्षमतालाई उजागर गर्न सहयोग पुर्याउँदै आएको छ। “विद्यार्थीहरूलाई यस्ता कार्यक्रमले पढाइमा रुचि बढाउनुका साथै अभिभावकहरूलाई बालबालिकाको सिकाइ नियाल्न अवसर प्रदान गर्दछ,” साहले बताए।
कार्यक्रमका प्रमुख अतिथि फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन थिइन्। उनले विद्यार्थीहरूको प्रस्तुति प्रशंसनीय रहेको बताउँदै यस्ता गतिविधिहरूलाई पालिका स्तरीय कार्यक्रमका रूपमा विस्तार गर्नुपर्ने धारणा राखिन्। कार्यक्रममा शिक्षाविद् जिबनाथ शिवाकोटी अतिथिका रूपमा उपस्थित थिए। उनले विद्यार्थीहरूको सिर्जनशीलता र मेहनतको प्रशंसा गर्दै यस्ता प्रदर्शनीले भविष्यका वैज्ञानिक र अभियन्ताहरू उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
प्रदर्शनीमा कक्षा ९ र १० का विद्यार्थीहरूले ५० वटा वैज्ञानिक परियोजनाहरू प्रस्तुत गरेका थिए। ती परियोजनाहरू विद्यार्थीहरूको व्यवहारिक ज्ञान र सिर्जनशीलताका उत्कृष्ट नमुना थिए।
हाइड्रोलिक ब्रिज: यातायात समस्याको समाधान खोज्ने प्रयासस्वरूप पानीको दबाबको प्रयोगबाट बनाइएको यो परियोजनाले सबैको ध्यान खिचेको थियो ।
हाइड्रोलिक लिफ्ट: भारी सामान उठाउन प्रयोग गर्न सकिने सरल र सस्तो प्रविधिको नमुना प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको समन्वय राजेश दासले गरेका थिए भने उनले यस्ता गतिविधिहरूले विद्यार्थीहरूलाई नयाँ सोच र सिर्जनशील परियोजनाहरू निर्माण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए । नगरपालिकाका शिक्षा सह-संयोजक अनिल कुमार यादव, दुधिअवा क्याम्पसका प्रमुख रंजन खरेल, शिक्षक सुबोध यादव, राधेश्याम यादव, पत्रकार तथा स्थानीयहरूको उत्साहजनक उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।