प्रदीप दास, रौतहट ।
पौष २६ गते, शुक्रबार ।
रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले चिसो मौसमले पारेको प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै अत्यन्तै सराहनीय कदम चालेका छन्। लगातार एक सातादेखि बाक्लो हुस्सु र कुहिरोका कारण कठ्याङ्ग्रिँदो चिसोले नगरवासीलाई निकै प्रभावित बनाइरहेको अवस्थामा जयसवालले नगरबासीलाई राहत प्रदान गर्न विशेष सक्रियता देखाएका छन्।
नगर प्रमुख जयसवालले चिसोबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउन नगरका विभिन्न सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरेका छन्। नगरका प्रत्येक वडामा चौक, चौतारा, मठमन्दिर, प्रहरी चौकीजस्ता सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि काठको व्यवस्था गरिएको छ। यस कार्यमा नगर प्रमुख आफैं प्रत्यक्ष रूपमा उपस्थित भई चिसोको चपेटामा परेका नागरिकहरूको समस्या समाधानका लागि पहल गरेका छन्।
यससँगै, गरुडा नगरपालिकाले अति गरिब, विपन्न र दलित समुदायका करिब १,२०० जना नागरिकलाई कम्बल वितरण गरेका हुन् । यी कम्बलहरू विशेष गरी चिसोबाट अत्यधिक प्रभावित भएका परिवारलाई प्राथमिकताका साथ उपलब्ध गराइएको छ। जयसवालले यस किसिमको राहत वितरण कार्यले चिसोको प्रतिकूलता कम गर्न ठूलो सहयोग पुगेको बताउनुभएको छ।
नगर प्रमुखको यस प्रयासले नगरवासीमा ठूलो खुसी ल्याएको छ। उनीहरूले जयसवाललाई धन्यवाद दिँदै यस्तो उदाहरणीय कार्यले नगरपालिकाको छवि अझ सकारात्मक बनाएको बताएका छन्। यसरी, गरुडा नगरपालिकाले चिसो मौसममा नागरिकलाई आवश्यक राहत प्रदान गर्न अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ।