काठमाडौँ। एक दिनमै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट २४ हजार ३४० यात्रुले दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन्।
सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो।
सो अनुसार पहिलो दिन सोमबारमात्र २४ हजार ३४० यात्रुले टिकट लिएको नयाँ बसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले जानकारी दिए।
सोमबार अग्रिम टिकट लिन आइतबार रातिदेखि नै यात्रुहरू नयाँ बसपार्कमा आएर लाइन लागेका थिए। नयाँ बसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन्।
सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ।