काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न चाहेको उल्लेख गरेका छन् ।
आजदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए ।
उनले एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गर्दै एनआरएनए भनेको सरकारको अवैतनिक राजदूत भएको बताए ।
‘एनआरएनएको माग र मुद्दा सम्बोधन गर्न सरकारले छुट्टै महाशाखाको व्यवस्था गरेको छ’, उनले भने, ‘सरकारले एनआरएनएलाई प्रोत्साहन गर्न नीतिगत पहल र प्रयत्न गर्दै आएको छ । यस विषयलाई थप गतिशील सार्थक बनाउन सरकार प्रयासरत छ भने नेपाल सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ ।’
उनले विदेशबाट लगानी भित्र्याउन र नेपाली कला तथा संस्कृतिलाई विश्वभर फैलाउन भूमिका खेल्न एनआरएनएलाई आग्रह गरे । उनले संघमा महिला, युवा र दोस्रो पुस्ताका एनआरएनएलाई समेट्दै दायरा फराकिलो बनाउन पनि आग्रह गरे ।