ओली आज झापा जाँदै, नवमीसम्म झापामै बस्ने

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्।

ओली बिहान सवा १० बजे भद्रपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष ओली दशैंका तीन दिन झापाको दमक स्थित आफ्नो निवासमा बस्ने नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

ओलीले अढाइ दशक देखि वडा दशैं लगायत चाडपर्वको शुभकामना कार्यक्रम आयोजनालाई निरन्तरता दिइरहेका छन्। सोही अनुसारका आज पनि झापाको विर्तामोडमा दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका पर्वहरुको शुभकामना कार्यक्रमको आयोजना गरेका छन्।

एमाले जिल्ला कमिटीका सचिव शिव ढुंगेलका अनुसार दिउसो साढे १२ बजे देखि विर्तामोडको साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा कार्यक्रम हुने भएको हो। एमाले नेता देवेन्द्र दाहालका अनुसार २०५६ सालको भदौतिर पार्टीका तत्कालिन स्थायी कमिटी सदस्य ओलीसँग सल्लाह गरेर दशैंको नवमीको दिन हरेक वर्ष शुभकामना कार्यक्रम आयोजना गरिँदै आएको छ।

ओली नवमीसम्म झापामै रहने नेता दाहालले बताए। अध्यक्ष ओलीले आयोजना गर्ने शुभकामना कार्यक्रममा जिल्लामा उपलब्ध विभिन्न पार्टीका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गर्ने गरिएको छ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,कांग्रेस नेता कृष्ण प्रसाद सिटौला महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरु सहभागी हुने गरेका छन्।

ताजा समाचार

Related Articles