इजरायलमा मारिएका थप एक नेपाली विद्यार्थीको शव ल्याइयो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उहाँको शव ल्याइएको हो ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उनले बताए ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरायल गएका थिए ।

ताजा समाचार

Related Articles