काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूहरु सबै पेसा व्यवसाय छोडेर गुनासो गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुगेको बताएका छन् ।
आज (शनिबार) ललितपुरमा आयोजित वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले आफूहरु अहिले दैनिक सयौं जनताको सेवामा समर्पित भइरहेको टिप्पणी गरे ।
‘हामी आफ्नो पेसा व्यवसाय सबै छोडेर गुनासो गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आएका छौं । अहिले पनि प्रत्येक दिन आपत परेका, विपत परेका, समस्यामा परेका नागरिकहरु हाम्रो पार्टी कार्यालयमा, हाम्रा नेताहरुलाई, हाम्रा सांसदहरुलाई सम्पर्क गरिरहेका छन् । दिनमा सबै सांसदहरुले गरेर हामी सयौं मानिसहरुलाई सेवा गरिरहेका छौं,’– उनले भने ।
आफूहरु जनताको पक्षमा काम गरिरहेको र जनताको समस्या सुनेर समस्या समाधान गरिरहेको उनले दाबी गरे । अहिले पनि विदेशमा अलपत्र परेकादेखिसरकारी जग्गा हडपेको विषयमा पार्टी कार्यालयमा र रास्वपाका नेताहरुलाई गुनासो आइरहेको उनले बताए ।