सेयर बजार २१ अंकले घट्यो, ९७ करोडको कारोबार

काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचकमा २१ अंकको गिरावट आएको हो ।

कारोबार सुरु हुनादेखि नै ओरालो यात्रा तय गरेको नेप्सेले कारोबार सकिँदासम्म बढ्ने सामान्य प्रयास गरेपनि परिसूचकमा २१.४६ अंकको गिरावट आएको हो । यसदिन नेप्से १.१६ प्रतिशतले घटेर १८२६.२३ अंकमा कायम भएको छ ।

कारोबारमा आएका १९७ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा पनि गिरावट आएको हो । यसदिन ३५ कम्पनीको सेयर मूल्य बढेका छन् भने ४ वटाको स्थिर रह्यो ।

नेप्से घटेको दिन ३९ हजार ३ सय २२ कारोबारमार्फत् २८९ स्क्रिप्टका ३५ हजाल ५८ हजार ५ सय ५४ इकाइ कित्ता सेयर ९७ करोड २३ लाख ६७ हजार २ सय ७८ रुपैयाँमा किनबेच भयो । नेप्से घट्दा सेन्सिटिभ इन्डेक्स पनि ५.३६ अंकले घटेर ३५२.३९ बिन्दुमा कायम भएको छ । उपसूचकतर्फ होटल तथा पर्यटनबाहेक सबै समूह राताम्य बने । तीमध्ये कारोबार समूहमा २.११ प्रतिशतले गिरावट आएको छ ।

यसदिन सबैभन्दा बढी कारोबार नबिल बैंकको संस्थापक सेयरको भएको छ । बैंकको ४ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच हुँदा ग्लोबल आईएमई बैंकको ३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक,हिमालयन डिस्टिलरी र नबिल बैंकको सामान्य सेयर शीर्ष ५ मा रहे ।

नेप्से घटेपनि एनआईसी एसिया लघुवित्तको सेयर मुल्य ६.९७ प्रतिशतले बढेको छ । तारागाउँ रिजेन्सी, मायाखोला हाइड्रो, एसियन हाइड्रो र नेसनल लघुवित्तको सेयरधनीले पनि सर्वाधिक कमाए । मूल्य घट्नेको सूचीमा हिमालय लघुवित्तको सेयर अगाडि रह्यो ।

यस्तै हिमालयनको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्दा बाराही हाइड्रोका सेयरधनीले ७.९८ प्रतिशत सम्पत्ति गुमाए । यसैगरी युनाइटेड इदी मार्दी आरबी आइड्रो,नबिल ब्यालेन्स्ड फन्ड २ र सबैको लघुवित्तको सेयर सर्वाधिक भाउ घट्नेको सूचीमा अगाडि रहे ।

ताजा समाचार

Related Articles