कांग्रेसको निर्णय- भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन २५ वटा टोली खटाउने

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन २५ वटा टोली खटाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले १०–१० जनाको रहने गरी २५ वटा टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठाउने बताए । उनका अनुसार बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए ।

सरकारले अनुदान रकम दिएपनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव देखिएको उनको भनाइ थियो । ‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाएपनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था छैन । स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी अस्थायी आवास बनाउन स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका छौं,’ विश्वकर्माले भने ।

भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गरिने उनको भनाइ छ । ‘२५ वटा टोली पठाउनेबारे भोलि पार्टी कार्यालय सानेपामा अभिमुखीकरण तालिम दिन्छौं । त्यसका लागि भोलि ११ बजे पार्टी कार्यालयमा तालिम गराउँदै छौं ।’

अस्थायी आवास बनाउन नेविसंघ–तरुण दलबाट स्वयंसेवक, इन्जिनिरिङ एशोसिएसनबाट इन्जिनिएर, टे«ड युनियनबाट मिस्त्री लिने उनले बताए । उनीहरु करिब एक साता बसेर प्रत्येकले आ–आफ्नो क्षेत्रमा घर बनाएर फर्किने विश्वकर्माले बताए ।

ताजा समाचार

Related Articles