उत्तर कोरियाली दूतावास बन्द हुँदा सरकारले चासो नदिएको भन्दै सुवालको आपत्ति

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा उत्तर कोरियाको राजदूतावास बन्द हुँदा सरकारले चासो नदिएको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा उत्तर कोरियाबाट आएर आइटी, मेडिकल क्षेत्रमा काम गर्ने कामदारलाई देश निकाला गर्नु उचित नभएको बताए ।

सांसद सुवालले भने– ‘नेपालबाट उत्तर कोरियाको राजदूतावास किन उठेर गयो ? ५५ वर्षअघि देखि मैत्रीपूर्ण सम्बन्ध रहेको देशले आफ्नो दूतावास हटाउनु राम्रो होइन । दूतावास हटाउनुको कारण के थियो सरकारले संसद्लाई जानकारी गराउनुपर्छ कि पर्दैन ? यसबारे समितिले सरकारसँग जवाफ माग्नुपर्छ । उत्तर कोरियाबाट नेपालमा आइटी र मेडिकल क्षेत्रमा केही कामदारले काम गरिरहेका थिए । उनीहरूलाई नेपालबाट निकाला गरिएको छ । लाखौँ नेपालीले अरूको देशमा गएर काम गर्न हुने, नेपालमा अरू देशका आएर काम गर्न नहुने भन्ने यस्तो पनि हुन्छ ?’

सांसद सुवालले रुस र युक्रेनको युद्धमा नेपाली युवाहरूले ज्यान गुमाइरहेको बताउँदै नेपाली युवालाई भाडाको सैनिक बन्नबाट रोक्न माग गरे ।

ताजा समाचार

Related Articles