सिंहदरबारको मिटिङमा राप्रपाका महामन्त्री राणा भारतीय नम्बर प्लेटको गाडीमा पसेर भने- ल्याउन मिल्दैन थाहा थिएन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशमशेर राणा बिहीबार नियमविपरीत भारतीय नम्बर प्लेटको गाडीमा सिंहदरबार पुगेका छन् । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा उनी आज सिंहदरबारस्थित समितिको बैठकमा सहभागी पुगेका स्रोतले जानकारी दियो ।

उनी भन्सार अनुमति पास समेत नभएको गाडीमा गएको पाइएपछि प्रहरीले राणासहित गाडीलाई बाहिर निकालेको जनाइएको छ । राणाले आफ्नो नातेदारहरु गाडीमा भारतबाट आएको र सोही गाडीमा आफू सिंहदरबार गएको बताए । ‘नातेदारहरु भारतबाट आएका थिए । गाडीको भन्सार थप्नु थियो । त्यही गाडी लिएर सिंहदरबारको मिटिङमा आएको थिएँ’, उनले भने, ‘मलाई के थाहा ल्याउन मिल्छ कि मिल्दैन ?’

उनले आफूले यसबारे थापा पाएपछि दुई दिनको भन्सार अनुमतिपत्र गराएको जानकारी दिए । ‘कस्टमको म्याद आजसम्मको थियो । भोलिपर्सीका लागि थप्नु थियो । पहिला सिंहदरबार गएर कस्टम अफिस जान्छु भन्ने थियो । कमिटीको बैठकस्थल बाहिर राखेको थिएँ । बाहिर गरिदिएका रहेछन् ।’

विशेष परिस्थितिबाहेक भारतीय नम्बर प्लेटको गाडी सिंहदरबार प्रवेश दिइने छैन प्रहरी स्रोतले भन्यो । अर्को कुरा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिइ नेपालभित्र चलाउन नपाइने र त्यसो गरेमा १ हजारदेखि पाँचहजार रुपैयाँसम्म जरिवाना लिने उल्लेख छ ।

ताजा समाचार

Related Articles