मुख्यसचिव धर्मसंकटमाः ऊर्जा मन्त्रालयमा सिग्देल, सिंचाई सचिवमा को ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवबाट दिनेश घिमिरेले राजीनामा दिएपछि पदरिक्त छ । रिक्त प्राविधिक सचिवमा सरिता दवाडीको बढुवा भइसकेको छ । तर ऊर्जा सचिवमा भने सरकारले कसैलाई खटाएको छैन ।

ऊर्जा मन्त्रालयको सचिवमा सरुवा हुनका लागि गोपालप्रसाद सिग्देल, प्रमिला बज्राचार्य, मणिराम गेलाल, सुरेश आचार्य, हालै बढुवा भएका विश्वबाबु पुडासैनीदेखि सरिता दुवाडीसम्म लागेका छन् । तर ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले भने आफ्नै मन्त्रालयका सिंचाईतर्फका सचिव सिग्देललाई ल्याउने बचन दिइसकेका छन् । यद्यपि सिग्देल भने भौतिक पूर्वाधार मन्त्रालयमा फर्किने कोसिसमा लागेका छन् । उक्त चाहना पूरा नभए ऊर्जामै फड्को मार्ने दाउमा छन् ।

हाल सिग्देल मन्त्री बस्नेतसँगै कोप सम्मेलनमा सहभागी हुन युएईको दुबईमा छन् । उनी ऊर्जा सचिवकै रुपमा कोपमा भाग लिन गएका हुन् । हालै बढुवा भएकी सरिता दवाडी सिंचाई सचिवमै पदस्थापन हुने चाहना राखिरहेकी छन् । निजामती सेवामा प्रवेश गरेको १ दशकमै सचिवमा बढुवा सफल दवाडी सिंचाई विभागकी पूर्व महानिर्देशक हुन् ।

निजामती सेवामा प्रवेश गरेको १ दशकमै बढुवा भएकाले उनले पेन्सन समेत नपाउने भएकी छन् । उनलाई १५ महिनापछि बढुवा गरिएको भए पेन्सन पाउने थिइन् । तर जुनियर मातहत काम गर्नुपर्ने भएकाले पेन्सन नै नभए पनि बढुवा हुने चाहना ब्यक्त गरेपछि दवाडी सचिव भएकी हुन् । उनी मुख्यसचिव बैकुन्ठ अर्यालकी साली हुन् । दवाडीलाई सचिवमा बढुवा गरेपछि मुख्यसचिवलाई धर्मसंकट आइलागेको छ ।

बरिष्ठ सचिवहरुले मन्त्रालय नपाइरहेको अवस्था एकातिर छ । सचिव गोपालप्रसाद सिग्देल ऊर्जातिर सारिएपछि सिंचाई मन्त्रालयमा बरिष्ठ सचिवहरुमध्येबाट लानुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर परिवारभित्रैकै सदस्य दवाडीलाई लान पनि उनलाई उत्तिकै दबाब परेको छ ।

ताजा समाचार

Related Articles