रानी साह, रौतहट ।
असोज २० गते, आईतवार ।
रौतहट जिल्लाको गुजरा नगरपालिकामा दलित समन्वय समितिको तेस्रो नगर सम्मेलन सुरेन्द्र बैठाको अध्यक्षतामा सम्पन्न भएको छ। शनिवार गुजरा नगरपालिकाको कार्यालय प्राङ्गणमा आयोजित भव्य कार्यक्रममा नगर समन्वय समितिको तेस्रो नगर भेला सम्पन्न भएको हो। “शिक्षित बनौं, संगठित होऔं, अधिकारको लागि संघर्ष गरौं” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गुजरा नगरपालिकाका दलित जनप्रतिनिधि, दलित अगुवा, कर्मचारी, विद्यार्थी, रौतहट जिल्लाका अन्य तहका दलित अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै दलित अगुवा बलिराम माझीले समितिको गठन २०७५ सालमा भएको जानकारी दिँदै समितिले स्थानीय तहमा दलित, बालबालिका र महिलाको हक अधिकार प्रवर्द्धन गर्दै आएको बताए। उनले छुवाछूत तथा जातीय विभेदविरुद्धको अभियानलाई थप सशक्त बनाउने उद्देश्यले काम भइरहेको पनि बताए। समितिले जातीय विभेद नियन्त्रण गर्न, दलितहरूको हक संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय तहमा प्रचार-प्रसार र पैरवी गर्ने, साथै विभिन्न सामाजिक, आर्थिक र शैक्षिक अवरोधहरूको समाधान गर्ने लक्ष्य लिएको छ।

रामाज्ञा रामले समितिले दलित अधिकार प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको बताउँदै दलितहरूलाई शिक्षित बनाउन, विभेदविरुद्ध कानूनी अभियान सञ्चालन गर्न र दलित विद्यार्थीहरूको शिक्षामा निःशुल्क तथा अनिवार्य व्यवस्था मिलाउने प्रयास भइरहेको उल्लेख गरे। साथै, रामले दलित समुदायको हितका लागि स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गर्न सफल भएको जानकारी दिए। नगरपालिकाको नेतृत्वमा जातीय छुवाछूत निवारणका लागि चेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको कुरा पनि उनले बताए।

नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले समितिको भूमिकालाई महत्वपूर्ण भन्दै जातीय विभेदविरुद्धको लडाइँलाई अझ सशक्त बनाउन समितिले खेलेको भूमिकाको प्रशंसा गरे। उनले भने, “समितिको गठनले गुजरा नगरपालिकामा समतामूलक समाज निर्माण गर्न मद्दत पुर्याएको छ। आगामी दिनमा पनि नगरपालिकाले यो समितिलाई पूर्ण सहयोग गर्नेछ।” प्रमुख चौधरीले आफुले दलित समुदायका ३७ जना विद्यार्थीलाई उच्च शिक्षा र प्राविधिक शिक्षामा सहयोग गरी स्वरोजगार बनाइसकेको बताए।
दलित अगुवा पुनित रामले दलित समुदायले सामना गरिरहेका सामाजिक, आर्थिक र धार्मिक विभेदको विरुद्धमा निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे। उनले जातीय छुवाछूत र विभेदजस्ता अपराधहरूको अन्त्यका लागि आफू निरन्तर सक्रिय रहेको बताए।

कार्यक्रममा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी, सबै वडाका अध्यक्षहरू, विभिन्न दलका प्रतिनिधिहरू र दलित अगुवा, अधिकारकर्मी , राष्ट्रिय दलित पत्रकार महासंघ रौतहटका पत्रकारहरु लगायत कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।