रौतहटको राजदेवी नपाको एक विद्यालयमा सयौँ डेस्क – बेन्चको साथै शैक्षिक सामग्री वितरण

प्रदीप कुमार दास, रौतहट ।

मङ्सीर १० गते,सोमबार ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर २ हजमिनियामा अवस्थित श्री रामनरेश लक्ष्मण माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण र वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

“मधेशी दलित गैर सरकारी संस्था महासंघ, रौतहट” को सल्लाहकार एवं कार्यक्रम अध्यक्ष कमल देव हजराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कक्षा १ देखि १० सम्मका ७८६ जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरियो।

कार्यक्रमको आयोजना “मधेशी दलित गैर सरकारी संस्था महासंघ , काठमाडौं ” र आर्थिक सहयोग “लेटर डे शैंट च्यारिटी” संस्थाले गरेको थियो। “मधेशी दलित गैर सरकारी संस्था महासंघ , काठमाडौं ” को राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानले शैक्षिक सामग्री वितरणले शिक्षामा योगदान पुर्‍याउने र मधेशी दलित समुदायका विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्य रहेको बताए। कार्यक्रम अन्तर्गत विद्यालयलाई १०० वटा डेस्क र बेन्च प्रदान गरिनुका साथै प्रत्येक विद्यार्थीलाई नोटबुक, स्कुल ब्याग, डाईजिन किट र स्वास्थ्य किट प्रदान गरियो।

उक्त कार्यक्रममा “लेटर डे शैंट च्यारिटी” का निर्देशक रिचार्ड नुफर र श्रीमती लोरी नुफरको विशेष उपस्थिति रहेको थियो। यसैगरी, नगर प्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख राजकुमारी देवी साह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, विद्यालयका प्रधानाध्यापक संजय कुमार यादव, “मधेशी दलित गैर सरकारी संस्था महासंघ, रौतहट शाखा” का अध्यक्ष उदयनारायण राम, राष्ट्रिय कार्यक्रम संयोजक ई. नितिन प्रियदर्शी, राष्ट्रिय उपाध्यक्ष अरुण कुमार मण्डल, महासचिव अनिल कुमार हजरा र कोषाध्यक्ष गिता पासवान , महासंघको केन्द्रीय सदस्य सन्तोषी गहतराज जस्ता प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र पत्रकारहरूको पनि कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले यस कार्यक्रमलाई मधेशी दलित समुदायको शिक्षाको स्तर उकास्न महत्त्वपूर्ण पहलको रूपमा वर्णन गरे।

कार्यक्रममा सहभागीहरूले “मधेशी दलित गैर सरकारी संस्था महासंघ काठमाडौं” र “लेटर डे शैंट च्यारिटी” संस्थाको यस कदमप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरे। कार्यक्रमको सञ्चालन किरण कुमारी पासवानले गरेकी थिइन् भने सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।

ताजा समाचार

Related Articles