रानी साह, रौतहट ।
माघ २२ गते, मंगलबार ।
मौलापुर रौतहट ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मधानी महोत्सव २०८१ को तयारी तीव्र भएको छ। मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका विभिन्न कार्यक्रमहरूको विस्तृत जानकारी दिइएको छ। साथै, मौलापुर नगरपालिका अन्तर्गत रहेको पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगर प्रमुख साहले सरकारसमक्ष माग गरेकी छन्।

रौतहटको मौलापुर नगरपालिका–५ स्थित पतौरा पुरातात्विक महादेव मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको यस मन्दिरलाई नेपाल सरकार तथा सम्बन्धित निकायले आवश्यक संरक्षण गर्नुपर्ने नगर प्रमुख साहको भनाइ छ। पत्रकार सम्मेलनमा उनले सरकार तथा सरोकारवालाहरूले मन्दिरको प्रवर्द्धन तथा संरक्षणका लागि गम्भीर चासो नदेखाएकोप्रति गुनासो गर्दै यसको उचित सम्बोधन हुनुपर्ने बताइन्।
“यस मन्दिरमा नेपाल तथा भारतका हजारौं श्रद्धालु दर्शन गर्न आउँछन्। यसको ऐतिहासिकता, सांस्कृतिक महत्त्व र धार्मिक मूल्यलाई सम्मान गर्दै सरकारले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्नु पर्दछ,” उनले भनिन्।

पाँच दिवसीय मधानी महोत्सव २०८१ को कार्यक्रमहरू :
यस वर्षको मधानी महोत्सव फाल्गुन ११ गतेदेखि १५ गतेसम्म भव्य रूपमा आयोजना गरिनेछ। महोत्सवमा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता तथा विविध मनोरञ्जनात्मक क्रियाकलापहरू समावेश गरिएका छन्।
फाल्गुन ११ गते – शिव पूजन, महाहवन तथा महोत्सवको समुद्घाटन
फाल्गुन १२ गते – शिव बारात यात्रा
फाल्गुन १३ गते – मधानी विशेष समारोह (प्रमुख अतिथि: प्रदेश २ का मुख्यमन्त्री शतिस सिंह)
फाल्गुन १४ गते – मधानी विशेष सांस्कृतिक समारोह (प्रमुख अतिथि: संघीय सांसद एवं पूर्वमन्त्री प्रभु साह)
फाल्गुन १५ गते – दङ्गल प्रतियोगिता
त्यस्तै, फाल्गुन ११ र १२ गते राति स्थानीय सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ भने फाल्गुन ११ देखि १५ गतेसम्म विभिन्न खेलतमासा आयोजना गरिनेछ।
यस महोत्सवमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहनेछ। नेपाल तथा भारतका चर्चित कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नेछन्। भोजपुरी, मैथिली, नेपाली तथा हिन्दी भाषाका चर्चित गायक–गायिका, नृत्य कलाकार तथा अन्य मनोरञ्जनकर्मीहरू सहभागी हुनेछन्।

सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुति दिने कलाकारहरूमध्ये भोजपुरी तथा साउथका नायक रवि किशन , विनय बिहारी,रितेश पाण्डे, मिंटुवा भोजपुरीया, सुनील पण्डित, अनु चौधरी, सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रीति आर्या पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राई तथा मोनालिसा जस्ता चर्चित कलाकारहरू प्रमुख आकर्षणका रूपमा रहनेछन्।
मधानी महोत्सव केवल धार्मिक कार्यक्रम मात्र नभएर सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने प्रमुख माध्यम पनि हो। यस महोत्सवले स्थानीय कला, संस्कृति तथा परम्परागत धार्मिक विश्वासलाई संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य गरिरहेको छ। साथै, नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताको आपसी सम्बन्धलाई सुदृढ गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
नगर प्रमुख साहले महोत्सवलाई सफल बनाउन सबै तह र तप्काका नागरिक, संघसंस्था तथा सरकारको सहयोग आवश्यक रहेको बताइन्। “हामी सबैले एकजुट भई यस महोत्सवलाई भव्य बनाउनु पर्छ। स्थानीय संस्कृति, धार्मिक आस्था तथा ऐतिहासिक धरोहरहरूको जगेर्नाका लागि सबै पक्षको योगदान अपरिहार्य छ,” उनले जोड दिइन्।
मधानी महोत्सव २०८१ धार्मिक तथा सांस्कृतिक समृद्धिको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत हुँदैछ। पतौरा महादेव मन्दिरको संरक्षण र विश्व सम्पदा सूचीमा सूचीकृत गराउने मागसँगै यस महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाल सरकार, स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूले यस महोत्सवलाई सफल बनाउन आवश्यक सहयोग गर्ने विश्वास लिइएको छ।