रौतहटको मौलापुरमा ११ फागुनदेखि भव्य मधानी महायज्ञ, रवि किशनलगायतका कलाकारको धमाकेदार प्रस्तुति हुने

रानी साह, रौतहट ।

माघ २२ गते , मंगलबार ।

रौतहटको मौलापुर नगरपालिकामा यस वर्ष पनि मधानी महायज्ञ भव्य रूपमा आयोजना गरिने भएको छ। प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार आउँदो ११ फागुनदेखि सुरु हुने पाँच दिने महायज्ञको तयारी तीव्र रूपमा भइरहेको छ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत साहले महायज्ञको कार्यक्रम तालिका सार्वजनिक गर्दै यसलाई विशेष बनाउन नगरपालिकाले व्यापक तयारी गरिरहेको बताए । यस वर्षको महायज्ञमा हिन्दी तथा भोजपुरी सिने जगतका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। भोजपुरी फिल्म उद्योगका लोकप्रिय अभिनेता तथा सांसद रवि किशन, निर्माता एवं विधायक विनय बिहारी, गायक एवं अभिनेता रितेश पाण्डेसहित मिंटुवा भोजपुरीया, गायक सुनिल पण्डित, गायिका अनु चौधरी, कलाकार सद्दाम हुसेन, रचना सिवाकोटी, गायक रुद्र नारायण तिवारी, कलाकार प्रीति आर्या पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राई, मोनालिसालगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन्।

पत्रकार सम्मेलनमा नगर प्रमुख रिना कुमारी साहले मौलापुर नगरपालिकास्थित ऐतिहासिक तथा धार्मिक स्थल पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरिन्। उनले मन्दिरको उत्खनन कार्य अव्यवस्थित रूपमा भइरहेको भन्दै यसको उचित संरक्षण र प्रवर्द्धनका लागि सरकारलाई ध्यान दिन आग्रह गरिन्।

नेपाल सरकारले मन्दिरलाई सय प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा राखिसकेको भए पनि आवश्यक संरक्षणको अभाव रहेको उनको गुनासो थियो। हजारौँ वर्ष पुरानो इतिहास बोकेको मन्दिर धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले यहाँ गरिने भगवान् शिवको पूजा अनुष्ठान विश्वमै अनौठो तथा मौलिक शैलीको रहेको बताइन् ।

मधानी महायज्ञ ११ फागुनमा विशेष उद्घाटन समारोहसहित सुरु हुनेछ।

१२ फागुन – शिव बारात यात्रा

१३ फागुन – मधानी विशेष पूजा समारोह

१४ फागुन – मधानी विशेष सांस्कृतिक कार्यक्रम

१५ फागुन – मधानी विशेष दङ्गल कार्यक्रम

महायज्ञ आम जनता पार्टी (आजपा)का अध्यक्ष, सङ्घीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पशुपतिनाथ मन्दिरका मुख्य भट्ट पुजारीसम्मको सहभागिता रहिसकेको छ।

महायज्ञलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समिति गठन गरी तयारी तीव्र पारिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन। यस महायज्ञले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

ताजा समाचार

Related Articles