गरुडा नगरपालिकाको १२औँ नगरसभा ऐतिहासिक रूपमा सम्पन्न, समृद्धि र सुशासनको प्रतिबद्धता व्यक्त

प्रदीप सम्राट,रौतहट ।

माघ २८ गते ,सोमबार ।

रौतहटको गरुडा नगरपालिकामा हिउँदे अधिवेशन अन्तर्गत १२औँ नगरसभा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादवको प्रमुख आतिथ्यतामा सम्पन्न नगरसभामा सम्पूर्ण वडाअध्यक्ष, कार्यपालिका सदस्यहरू, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।

गाउँसभा/नगरसभा/कार्य सञ्चालन ऐन २०७७ अनुसार संचालित यस अधिवेशनमा नगरको दिगो विकास, प्रभावकारी सेवा प्रवाह, सुशासन प्रवर्द्धन तथा स्थानीय जनताको समग्र हितलाई केन्द्रबिन्दुमा राखेर महत्वपूर्ण नीति तथा कार्यक्रमहरू पारित गरिएको हो । नगर सभाले सार्वजनिक सेवा सुधार, पूर्वाधार विकास, सामाजिक न्याय, स्वच्छ प्रशासन तथा नगरवासीहरूको जीवनस्तर उकास्ने बहुआयामिक योजनाहरूलाई प्राथमिकता दिएको छ।

नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले नगरसभा सम्बोधन गर्दै भने, “गरुडा नगरपालिकालाई भ्रष्टाचारमुक्त, पारदर्शी, जनउत्तरदायी र समृद्ध बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ। योजनाहरू केवल कागजमा सीमित नरहून्, कार्यान्वयनमा ठोस प्रगति होस् भन्ने हाम्रो अठोट हो। नगरवासीका आकांक्षाहरू पूरा गर्न कुनै पनि सम्झौता हुनेछैन।”

उनले नगरपालिकाको विकास योजनालाई प्रभावकारी बनाउन वडास्तरदेखि कार्यपालिका र जनप्रतिनिधिहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षलाई समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गरे। नगरसभाले सार्वजनिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा रोजगारी प्रवर्द्धनका क्षेत्रमा लगानी बढाउने निर्णय गरेको छ ।

नगरसभामा स्थानीय जनप्रतिनिधिहरूले नगरपालिकाको प्रगतिलाई थप गतिशील बनाउने विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले गरुडा नगरपालिकाको शैक्षिक गुणस्तर सुधार, सडक तथा ढल व्यवस्थापन, स्वास्थ्य सेवाको विस्तार, कृषि प्रवर्द्धन तथा रोजगारी सिर्जनाका क्षेत्रमा ठोस नीति आवश्यक रहेको औंल्याएका थिए ।

नगर प्रमुख जैसवालले नगरवासी जनताका आकांक्षाहरू सम्बोधन गर्दै नगरलाई पारदर्शी र उत्तरदायी बनाउने अभियानमा सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । उनले भने , “नगरवासी महानुभावहरू, जनप्रतिनिधिहरू र कर्मचारीहरूको सक्रिय सहभागिताले मात्र हाम्रो लक्ष्य प्राप्ति सम्भव छ। अबको गरुडा, समृद्ध गरुडा हुनेछ भन्नेमा हामी दृढ छौँ ।”

ताजा समाचार

Related Articles