रानी साह, रौतहट ।
फाल्गुन ०१ गते, बिहीबार ।
महान जनयुद्ध दिवसको विशेष अवसरमा आम जनता पार्टीद्वारा आयोजित विशेष भेला रौतहटको यमुनामाई गाउँपालिकामा भव्यताका साथ सम्पन्न भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद माननीय प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले पालिका स्तरीय विभिन्न कमिटीहरूको गठन गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।
भेलामा आम जनता पार्टीका केन्द्रीय नेता, जिल्ला स्तरका अगुवा कार्यकर्ता, विभिन्न जनवर्गीय संगठनका अध्यक्षहरू, युवा संगठन, आइटी आर्मीका नेताहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। महान जनयुद्धमा बलिदान दिने वीर सहिदहरूको सम्मानस्वरूप नेता प्रभु साहले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको तस्वीरमा माल्यार्पण गर्नुभयो।
माननीय प्रभु साह नेपाली कम्युनिस्ट आन्दोलनका एक जुझारु नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँ दश वर्षे जनयुद्धमा प्रत्यक्ष रूपमा सहभागी भई कठोर संघर्ष गर्दै जेलनेल भोग्नुभएका योद्धा हुनुहुन्छ। पछिल्लो समय, उहाँले नेकपा (माओवादी केन्द्र) त्याग गरी आफ्नै राजनीतिक दल आम जनता पार्टी गठन गर्नुभयो। पछि, पार्टी परिवर्तन गरे पनि उहाँले आफ्नो संघर्षपूर्ण राजनीतिक यात्रा, वर्गीय धरातल र क्रान्तिकारी भावनालाई कहिल्यै बिर्सनु भएको छैन।
माओवादी केन्द्रले हरेक वर्ष फागुन १ गतेलाई महान जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ। तर, पछिल्लो समय पार्टीमा असन्तुष्ट हुँदै पार्टी त्याग गरेका साहले यस वर्ष पनि जनयुद्ध दिवसलाई भव्य रूपमा मनाउनु भयो। उहाँले जनयुद्धले हासिल गरेका उपलब्धिहरूको रक्षा गर्दै राजनीतिक कार्यदिशालाई अझै सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
आज सम्पन्न भेलाले पालिका स्तरमा संगठन सशक्त पार्ने र भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गर्ने निर्णय समेत गरेको छ। भेलाका वक्ताहरूले हाल देशभर फैलिएको भ्रष्टाचार, कुशासन र दलाल प्रवृत्तिको घोर विरोध गर्दै यसको अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्ने र जनताको पक्षमा संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
भ्रष्टाचारका कारण जनताको अधिकार कुण्ठित भई मुलुक नै आर्थिक संकटमा फस्दै गएको अवस्थामा, आम जनता पार्टीले सच्चा जनसेवाको पक्षमा अडिग रहने र भ्रष्टाचारमाथि कठोर कारबाहीको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
नेता प्रभु साहले पार्टी परिवर्तन गरे पनि जनयुद्धको मूल्य र मान्यताबाट पछि नहटेका, सैद्धान्तिक अडान कायम राखेका तथा क्रान्तिकारी भावना बोकेका नेता हुन्। उहाँको नेतृत्वमा रहेको आम जनता पार्टीले भ्रष्टाचारविरुद्ध दृढ संघर्ष गर्दै जनताको अधिकारलाई संस्थागत गर्ने, नयाँ नेपालको परिकल्पनालाई साकार पार्ने र नयाँ पुस्तालाई सशक्त राजनीतिक विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ।
यमुनामाई गाउँपालिकामा सम्पन्न यो भव्य भेला आम जनता पार्टीको संगठन विस्तार, विचारधारात्मक सुदृढीकरण र राजनीतिक क्रियाशीलताको प्रतीक बनेको छ। यसले रौतहटमा मात्र नभई समग्र मधेस र नेपालभर नै नयाँ तरंग सिर्जना गर्ने विश्वास लिइएको छ।