रानी साह, रौतहट ।
फाल्गुन ०१ गते, बिहीबार ।
नेकपा (माओवादी केन्द्र) रौतहटले भव्य रूपमा ३० औं जनयुद्ध दिवस मनाएको छ। जिल्ला समन्वय समितिको आयोजनामा हजारौँ नेता, कार्यकर्ता, समर्थक तथा स्थानीय जनता सहभागी भई गौर नगरभित्र बृहत् र्याली निकालिएको थियो। जनयुद्ध दिवसको अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अशोक जैसवालले जनयुद्धकै कारण नेपाली जनता अधिकार सम्पन्न बनेको भन्दै त्यसलाई अपराधिकरण गर्न खोज्ने प्रतिक्रियावादी दलालहरूलाई चुनौती दिनुभयो।
कोणसभालाई सम्बोधन गर्दै नेता जैसवालले केही समयअघि सर्वोच्च अदालतले जनयुद्ध दिवस मनाउनु गैरकानुनी हुने भनी गरेको फैसलाप्रति कडा असन्तोष व्यक्त गर्नुभयो। उहाँले माओवादी आन्दोलनले ल्याएका उपलब्धिहरू कुनै व्यक्ति वा संस्थाको अनुमतिमा निर्भर नरहेको उल्लेख गर्दै जनयुद्धकै बलमा नेपालमा गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता स्थापित भएको तर्क गर्नुभयो। साथै, उहाँले जनयुद्धलाई अपमान गर्ने जो-कोहीलाई प्रतिरोध गरिने चेतावनी समेत दिनुभयो।
कार्यक्रम अन्तर्गत दिउँसो १ बजे गौरस्थित ब्यारेक फिल्डबाट सुरु भएको र्याली बिपी चोक, बजार, भन्सार गेट हुँदै जिल्ला अदालत अगाडि कोणसभामा परिणत भएको थियो। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मधेश प्रदेश सांसद समीर भट्टराई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अशोक जैसवाल, मधेश प्रदेश समिति सदस्य बिन्देश्वर यादव, दुर्गा भगवती गाउँपालिकाका निर्वाचित अध्यक्ष शम्भु सिंह, विभिन्न वडा अध्यक्ष तथा सदस्यहरू, नगर कमिटीका नेताहरू, माओवादीका भातृ संगठनका प्रतिनिधिहरू तथा स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कोणसभामा बोल्दै मधेश प्रदेश समिति सदस्य बिन्देश्वर यादवले जनयुद्धकै जगमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो। उहाँले जनयुद्धले नेपाली समाजमा ऐतिहासिक परिवर्तन ल्याएको र त्यसलाई इतिहासमै अमर बनाइने धारणा राख्नुभयो।
कोणसभामा नेता जैसवालले जनयुद्धका सहिदहरूको बलिदानको अवमूल्यन कसैले गर्न नपाउने भन्दै वर्तमान उपलब्धिहरू जोगाउन माओवादी केन्द्र अझ सशक्त रूपमा लाग्ने बताउनुभयो। उहाँले महिला, मधेसी, दलित, जनजाति तथा सम्पूर्ण उत्पीडित वर्गका अधिकार सुनिश्चित गर्ने लडाइँ अझै नसकिएको भन्दै अधिकारको रक्षा गर्नका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताउनुभयो।
जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा नेताहरूले जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै जनताको मुक्तिको आन्दोलनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, कार्यक्रममा सहभागिता जनाउने सबै नेता तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दै जनताको हकहितका लागि निरन्तर संघर्षरत रहने उद्घोष गरियो।